भक्तपुर साकोसद्वारा सहुलियत मुल्यमा मल र वीउ विक्री, संस्थाको कारोवार रु.३ अर्ब २३ करोड

भक्तपुर/ भक्तपुर नगरपालिका-९,च्यामासिङमा आफ्नै भवनबाट सञ्चालन भइरहेको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले स्थानीय कृषकहरुको हितलाई मध्यनजर गरी सहुलियत मुल्यमा एउटा परिवारको एक जनाका दरले २० बोरा डीएपी मल, १५ बोरा युरिया मल र १ बोरा खुमल-८ नामक धानको वीउ विक्री गरेको जनाएको छ । यही जेठ ५ गते सो संस्थाको आफ्नै कार्यालय भवनबाट प्रतिव्यक्ति ५ के.जी.का दरले युरिया मल १५० जनालाई , प्रति व्यक्ति ५ के.जी.का दरले डीएपी मल २५० जनालाई र प्रति व्यक्ति २ के.जी.का दरले खुमल-८ नामक धानको वीऊ २२० जनालाई विक्री गरेको सोही संस्थाका व्यवस्थापक सत्यनारायण साँयजुले अलगपथलाई बताउनुभयो । ‘हाम्रो यस संस्थाले ५ के.जी. युरिया मल रु.१०० मा , ५ के.जी. डीएसपी मल रु.२५० मा र २ के.जी. खुमल -८ नामक धानको वीउ रु.२२० मा विक्री गरेको छ’, उहाँले भन्नुभयो ।

स्थानीय सामुदायमा आधारित भक्तपुर जिल्लै सबैभन्दा ठूलो त्यस संस्थामा यही जेठ ८ गतेसम्म शेयर सदस्य संख्या ८ हजार ६ सय , शेयर पूँजी रु.१२ करोड , निक्षेप संकलन रु.२ अर्ब ७५ करोड , ऋण लगानी रु.२ अर्ब ९४ करोड , जगेडा कोष सहित कूल कोष रु.१९ करोड ७७ लाख र कूल कारोवार रु.३ अर्ब २३ करोड रहेको उहाँको भनाई छ ।

समय समयमा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको सो संस्थाले सहुलियत शुल्कमा आफ्ना शेयर सदस्यहरुलाई वाद्यवादन र सवारी साधन सम्बन्धी तालिम प्रदान गरिरहेको छ । वाद्यवादन अन्तर्गत २ महिने मादल बजाउने तालिममा ३० जना र ५ महिने भ्वाइलिन बजाउने तालिममा ४० जना र १५ दिने चार पाङ्ग्रे सवारी साधन चलाउने तालिममा ३० जनाको सहभागिता रहेको व्यवस्थापक साँयजुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *