काठमाडौं/ भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार सहयोगीनगर सामूदायिक समाज श्रीकृष्ण पुञ्ज, कोटेश्वरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । काठमाडौं महानगरपालिका-३२, सहयोगीनगर, कोटेश्वरमा रहेको सो संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १०३ जना रक्तदाताले रक्तदान गरेका थिए । विहान १०:०० बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन भएको त्यस रक्तदान कार्यक्रममा सोही संस्थाका अध्यक्ष जयबहादुर खड्का लगायतले रक्तदाताहरुलाई खादा ओडाएर प्रमाण-पत्र वितरण गर्नु भएको थियो । त्यसै संस्थाका सञ्चालक किशोर श्रेष्ठको संयोजनमा सम्पन्न सो रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । रगत अभावले विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले बिगतमा झैं हाम्रो यस संस्थाले यो रक्तदान कार्यक्रम आयोजना गरेको त्यसै संस्थाका प्रबन्ध सञ्चालक पदम श्रेष्ठले अलगपथलाई बताउनुभयो ।
सहकारीको सिद्धान्तलाई आत्मसाथ गरी आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सो संस्था सञ्चालन भइरहेको छ । स्थापना भएको छोटो समयमा नै राम्रोसँग प्रगति गर्न सफल त्यस संस्थाले आफ्नो भवन निर्माण गर्ने उद्देश्यले काठमाडौंको जडिबुटीमा जग्गा खरीद गरी सकेको छ ।