काठमाडौं / राष्ट्रिय सहकारु महासंघ लिमिटेड, नेपाल र काठमाडौं विश्वविद्यालय बीच आज गरिवी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन सम्झौता भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा उक्त विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी सो सम्झौता भएको राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले जनाएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष मिनराज कँडेल, नि:वर्तमान अध्यक्ष केशवप्रसाद बडाल, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष कृष्णबहादुर उप्रेती र सञ्चालक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठक तथा काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोद श्रेष्ठ र उप-प्राध्यापक दीपेश कार्कीको उपस्थितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका तर्फबाट सोही महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौ विश्वविद्यालयका तर्फबाट स्कूल अफ म्यानेजमेण्टका डीन प्रा. डा. देवीप्रसाद बेडारीले त्यस सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभयो ।
यस पटक काठमाडौं विश्वविद्यालयले तथ्याङ्क संकलनका लागि मोबाइल एप्सको प्रयोग गर्ने र सामाजिक न्यायसँग सम्बन्धित प्रश्नावलीलाई समेत अनुसन्धानमा समावेश गर्ने भएको छ ।
यस अघि राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालले काठमाडौं विश्वविद्यालयसँग मिलेर १ नं. प्रदेश र २ नं. प्रदेशमा गरिवी निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन गरेको थियो ।