लोकेश्वर साकोस, भक्तपुरको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर / भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धबार्षिक समीक्षा कार्यक्रम शनिबार साविक भक्तपुर नगरपालिका वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थाले सदस्य तथा समाजको लागि जनचेतनामूलक क्रियाकलापहरु अगाडि बढाउनु पर्ने र यस्ता कार्यक्रमहरु संस्थाका विभिन्न उपसमितिहरु मार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेका नयाँ पुस्ताले उच्च शिक्षा हासिल गरिसकेतापनि समाजमा भइरहेका समसामयिक विषयको ज्ञान नभएकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता कुराह्ररु पनि सहकारीका कार्यक्रम मार्फत नयाँ पुस्तालाई जानकारी दिन सकिने विचार व्यक्त गर्नुभयो । देशको समसामयिक राजनीतिको विषयमा चर्चा गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीको सदन र सडकमा अत्याधिक जनविरोधका बावजुत सरकारले सदनबाट देशघाती एमसीसी(MCC) सम्झौता अनुमोदन गरेकोमा आपत्ति जनाउदै हामीले विरोध गरेका कुराहरु व्यर्थ नजाने र देशघाती सम्झौताको विरोध निरन्तर गरिरहनु पर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिकाको कोभिड १९ को रोकथाम तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने कार्यमा लोकेश्वर साकोसले पनि आर्थिक सहयोग गरेकोमा सो संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । भक्तपुर नगरपालिकाले गर्दै आएका सहकारीसँग सम्बन्धित विभिन्न गतिविधिहरुको चर्चा गर्दै उहाँले भक्तपुर नगरमा अहिले कानुनी प्रकृया पूरा नगरी नियम विपरित सञ्चालनमा आएका बहुउद्देश्यीय सहकारी संस्थाहरुले तत्काल कारोबार बन्द गर्नुपर्ने र त्यस्ता संस्थाहरुमा सर्वसाधारण जनताले कारोबार नगर्न अनुरोध गर्नुभयो ।
सोही कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का व्यवस्थापक बालकृष्ण धोजुले

त्यस संस्थाबाट गरेका विभिन्न गतिविधिको चर्चा गर्दै सहकारीले गर्नुपर्ने विभिन्न कुराहरुको सल्लाह सुझाब दिनुका साथै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मार्फत सदस्य सहकारीहरुको हितको लागि गरिरहेकोे विभिन्न कार्यहरुको बारेमा जानकारी दिनु भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष राजन जतिले हाम्रो यस संस्थाले वित्तीय कारोबार मात्र नभई सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको छ ,जसले सामाजिक रुपान्तरण तथा सदस्यहरुको जीवनस्तर सुधारमा अहम् भूमिका खेलेको भन्दै आगामी दिनहरुमा पनि यस्ता कृयाकलापहरुलाई निरन्तर रुपमा गर्दै जाने बताउनुभयो । उक्त कार्यक्रममा संस्थाका सचिव कृष्णराम तुकंबञ्जार, कोषाध्यक्ष पुण्यराम स्वंगमिखा, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल तथा विभिन्न उपसमितिबाट अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *