ललितपुर/ काठमाडौंको प्युखा, न्युरोडम प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले सरसफाई, रक्तदान लगायतका विभिन्न रचनात्मक कार्यक्रम गरी आफ्नो १२औं वार्षिकोत्सव मनाइरहेको जनाएको छ । यसैक्रममा सो संस्थाको आयोजनामा आज बिहान ललितपुर महानगरपालिका वडा नं.१६, मंगलबजार स्थित पाटन दरवार स्क्वायर परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भयो । उक्त सरसफाई कार्यक्रममा सोही संस्थाका पूर्व अध्यक्ष, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु , शेयर सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको त्यसै संस्थाका सूचना अधिकारी तथा १२औं वार्षिकोत्सव कार्यक्रम संयोजक अर्जुन विश्वकर्माले जानकारी दिनुभयो । त्यसै संस्थाका अध्यक्ष नरेन्द्र विष्टको नेतृत्वमा भएको त्यस सरसफाईबाट निस्किएको फोहोरमैला व्यवस्थापन समेत गरिएको थियो । त्यस सरसफाई कार्यक्रममा महानगरीय प्रहरी प्रभाग, मंगलबजारले सहयोग गरेको थियो ।
सोही वार्षीकोत्वसवको अवसरमा उक्त संस्थाको आयोजनामा भोलि काठमाडौंका ४ स्थानमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । सो संस्थाको प्रधान कार्यालय प्युखा, न्युरोड परिसर , कालीमाटी र सामाखुशीमा रहेका उक्त संस्थाका सेवाकेन्द्र परिसर र त्यसै संस्थाको तिनकुनेस्थित सदस्य सेवाकेन्द्र नजिकै रहेको रोयल बैंङ्क्वेट अगाडि उक्त रक्तदान कार्यक्रम हुने सोही कार्यक्रम संयोजक विश्वकर्माले अलगपथलाई बताउनुभयो ।
त्यसै बार्षिकोत्सवको अवसरमा सो संस्थाको भोलि साँझ मानव आश्रम, चितवनमा रहेका असाह्यहरुलाई खाना खुवाउने योजना रहेको उहाँको भनाई छ ।
स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गरेको सो संस्थाको मुख्य कार्यालयका अतिरिक्त काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र नुवाकोटमा गरी १० वटा सदस्य सेवाकेन्द्र सञ्चालनमा छन् ।