बनेपा/ सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरी आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.ले विद्यार्थीहरु बीच वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको उक्त संस्थाले यही आइतबार आफ्नै कार्यालयको सभाहलमा सञ्चालन गरेको सो कार्यक्रममा भालेश्वर मा.वि. पनौतीका कक्षा १२ का ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको बताइएको छ ।
सोही संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा त्यसै संस्थाका व्यवस्थापक उत्तम श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
सो संस्थाका कोषाध्यक्ष विमल कार्की , सञ्चालकद्वय सुदन श्रेष्ठ र सनत सापकोटा , प्रशासन तथा लेखा अधिकृत सिल्पा श्रेष्ठ , ऋण सहायक बलराम थापा लगायतको उपस्थिति रहेको त्यस कार्यक्रमका अध्यक्ष श्रेष्ठले वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ ।