सिकाली सहकारीको सिकाली तेलको बढ्यो माग

ललितपुर/ ललितपुर महानगरपालिका वडा नं.२१ , खोकनामा रहेको सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले उत्पादन गरिरहेको तोरी र सर्स्युको तेलको माग बढेको देखिएको छ । बजारमा रहेका तेलहरुमध्ये यो तेल शुद्ध र गुणस्तरीय छ तर यो तेल आफूले चाहेको स्थानमा किन्न नपाउदा समस्या भएको उक्त तेल उपभोग गरेका उपभोक्ताहरुको भनाई छ । सो तेल उत्पादक संस्था सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष

तीर्थराम डंगोल भने बिगत १० वर्षदेखि भुटेको तोरीको तेल उत्पादन गर्दै आएको हाम्रो यो सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले गत भदौमा २ वटा मेसिन थप गरेर तेल उत्पादन बढाएको छ र हरेक वर्ष नयाँ मेसिन थप्दै तेल उत्पादन बढाउदै लगेर काठमाडौं उपत्यकाबासी लगायतमा शुद्ध र गुणस्तरीय तोरीको तेल पु-याउने योजना रहेको बताउनुहुन्छ ।

यस संस्थाले खोकनामा रहेका आफ्ना दुई वटा मिलबाट दैनिक भुटेको र काँचो गरी ७ सय ली. तोरीको तेल उत्पादन गरिरहेको र त्यसमध्ये मिल छेउछाउ र वरपरका स्थानीयबासी बीचमा ५० प्रतिशत खपत हुने र बाँकी ५० प्रतिशत तेल हाम्रो यस सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.का कर्मचारीहरु आफै बजारमा गएर विक्री गर्ने गरेको सो संस्थाका अध्यक्ष डंगोलको भनाई छ ।

ललितपुर महानगरपालिका वडा नं.२१ भित्र मात्रै कार्यक्षेत्र रहेको र आफ्ना शेयर सदस्यहरु बीच बचत तथा ऋण कारोवार समेत गरिरहेको सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो रु.१३ करोड कूल कारोवार मध्ये रु.६० लाख तेल उत्पादनमा लगानी रहेको अलगपथलाई उहाँले बताउनुभयो ।

यो तेल उत्पादनमा कतैबाट कुनै सहयोग लिनु भएको छ कि भन्ने अलगपथको जिज्ञाशाको जवाफ दिदै अध्यक्ष डंगोलले ‘यो मिल स्थापना भएको १० वर्ष भयो । आजसम्म हाम्रो यस सहकारी संस्थाको आफ्नै लगानी बाहेक यसमा कतैबाट कुनै सहयोग प्राप्त भएको छैन । हाम्रा पूर्खाको पेशा, खोकनाको इतिहास र पहिचानलाई संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य अनुरुप हाम्रो यो संस्थाले तोरी र सर्स्युको तेल उत्पादन गर्दै आएको छ । ३२ वटा जति सहकारी संस्थामा हाम्रो यो तेलको माग भएको छ । काठमाडौंको सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष केदार मानन्धर सरले सो संस्थाबाट हाम्रो तेल विक्री गर्ने वचन दिनु भएको छ । यो तेल हाम्रो सहकारी संस्थाले उत्पादन गरेकोले अरु सहकारी संस्थाहरुमा आवद्ध सहकारीकर्मीहरुले यसको उपयोग गरी दिनुहोस् भन्ने हाम्रो आग्रह छ’, भन्नुभयो ।

तपाईहरुको मिलमा तोरी चाहिँ कहाँबाट आउँछ नि भन्ने आलगपथको प्रश्नको जवाफमा उहाँले कहिलेकाही ललितपुरका ग्रामीण क्षेत्रबाट पनि आउछ । त्यसैगरी चितवन, दाङ तथा भारतको राजस्थान, अष्ट्रेलिया र युक्रेनबाट आउने गरेको छ । रुस र युक्रेन बीचको लडाईले गर्दा युक्रेनबाट तोरी आयात हुन समस्या भएको छ । जसले गर्दा १३२ रुपैया प्रतिकिलोका दरले आउने गरेको तोरीको मुल्य बढेर १६५ रुपैयासम्म पुगेको छ भने १४० रुपैया प्रतिकिलोको दरले आउने गरेको सर्स्युको मुल्य बढेर १७५ रुपैयासम्म पुगेको छ । जसले गर्दा हाम्रो सबै खर्च जोड्दा हाम्रो तेलको प्रति ली. मुल्य रु.४१५ पर्न आउछ तर हामीसँग अगाडिको केही तेल स्टक रहेकोले अहिले हामी हाम्रो तोरीको तेल प्रति ली.३९० र विशेष गरी हातगोडा र जीऊ दुख्दा लगाउने गरिएको सर्स्युको तेल १०० मिलीलीटरको रु.७० मा विक्री गरिरहेका छौ,’ भन्नुभयो ।

सिकाली तेल विक्रीका लागि सिकाली र सीतापाइला सहकारी बीच सम्झौता

सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि., खोकना, ललितपुरबाट उत्पादित गुणस्तरिय शुद्ध तोरीको तेल काठमाडौंको चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकाभित्रको बजारीकरणको व्यवस्थापन गर्ने जिम्मा सीतापाईला बहुउद्देश्यीय सहकारी संस्था लि., सीतापाइला, काठमाडौंले लिएको जनाइएको छ । सो संस्थाले उक्त तोरीको तेल आवश्यक भएमा उक्त संस्थाका सदस्यहरुले त्यस संस्थाको केन्द्रीय कार्यालय सीतापाईलाका साथै सेवा केन्द्रहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *