काठमाडौं/ विभिन्न कार्यक्रम गरी राज्य र सहकारी अभियानले भव्यताका साथ ६५औं राष्ट्रिय सहकारी दिवस मनाइरहेका छन् । यस वर्ष पनि मर्यादित व्यवसाय र प्रविधिमा सहकारी नाराका साथ मनाइदै गरेको यो दिवसका अवसरमा सहकारीलाइ कसरी मर्यादित व्यवसाय बनाउने र यसलाई पूर्ण रुपमा प्रविधिमा लैजाने भनेर छलफल , बहस र अन्तर्क्रिया भइरहेका छन् । यो दिवसका आवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा , भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठ, सोही मन्त्रालयका सचिव रत्नप्रसाद थपलिया र सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले शुभकामना व्यक्त गर्नु भएको थियो ।




त्यस्तैगरी यस दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल लगायतका सहकारी संघ/ संस्थाहरुका सहकारी अभियानकर्मीहरुले शुभकामना व्यक्त गरेका थिए
यो दिवसको अवसरमा काठमाडौं , ललितपुर , भक्तपुर लगायतका विभिन्न जिल्लामा बाजागाजा सहितको -याली तथा प्रभातफेरी जस्ता कार्यक्रमहरु सम्पन्न भए । यही दिवसको अवसरमा देशभरका विभिन्न सहकारी संघ/संस्थाको आयोजनामा रचनात्मक सम्पन्न भएका समाचार प्राप्त भएको छ । यसैक्रममा काठमाडौंको पेप्सिकोलामा रहेको पाँचतारा साकोसको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भयो । त्यसैगरी शनिबार नै काठमाडौंको आलापोटमा रहेको सहयोगी साकोसको आयोजना र कास्कूनको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भयो । त्यसैगरी शनिबार नै ललितपुरको सहकारी अभियानको आयोजनामा मंगलबजारमा र ललितपुरकै लगनखेलमा रहेका प्रतिभा साकोस र सामाजिक साकोसको संयुक्त आयोजनामा लगनखेल बसपार्कमा रक्तदान कार्यक्रम सम्पन्न भए । यही दिवसको अवसरमा भक्तपुरको विरुवामा रहेको चमेली कल्याणकारी साकोसको आयोजनामा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भयो । यस अघि यही चैत्र २ गते भक्तपुरको गुण्डुमा आफ्नो सेवाकेन्द्र सञ्चालनमा ल्याएको सो संस्थाको आयोजनामा यही चैत्र ४ गते स्वास्थ्य शिशीर सञ्चालन भएको थियो । यस्तै यही शनिबार नै रुपन्देहीको शंकरपुरमा रहेको आफन्त साकोसको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
यो दिवस भव्य रुपमा मनाउदै गर्दा सहकारी क्षेत्र भने समस्यायुक्त हुन सकेको छैन । कोरोनाको महामारीको समस्याले पीडित सहकारी क्षेत्र कानुनी र कतै व्यवहारिक समस्या झेलिरहेको छ । यो क्षेत्रलाई कसरी उत्पादनमुखी, मर्यादित र व्यवस्थित बनाएर अगाडि बढाउने भन्ने राज्यले स्प्रष्ट नीति तय गरेको देखिदैन । जसले सहकारी क्षेत्र अन्यौलको अवस्थामा रुमलिएको छ । एकातिर सहकारी ऐन र नियम तथा सहकारीको प्रवर्द्धनमा तगारो बनेका अन्य ऐन र नियम संशोधनका लागि राष्ट्रिय सहकारी महासंघ लि.ले सरकारलाई बुझाएको बताएको छ तर तिनीहरुको संशोधन हुन सकेको छैन भने तिनलाई संशोधन गराउन सहकारी अभियानले दवावमूलक पहल गरेको देखिदैन । यसैगरी सरकारी नियामक निकायले पनि आफू अन्तर्गतका सहकारी संघ/संस्थाको राम्रोसँग अनुगमन नियमन गर्ने र तिनीहरुमा राम्रोसँग सहकारी शिक्षा र तालिम कार्यक्रम सञ्चालन नगर्दा पनि सहकारी समस्यामुक्त हुन नसकेको सहकारीका जानकारहरु बताउछन् । सहकारी दिवसको बेलामा मात्रै सहकारीको बारेमा बहस र छलफल हुने र यो दिवस पछि बिगतमा झैं चुप लागेर बसिरहने हो भने यो दिवस औफचारिकतामै सिमित हुने उनीहरुको भनाई छ । काठमाडौं उपत्यका बाहिरका कतिपय सहकारी संघ/संस्थाहरुले राज्यले काठमाडौं उपत्यकाको रिङरोड भित्रका सहकारी संघ/संस्थाहरुलाई हेरेर मात्रै ऐन/नियम बनाउने कार्य गर्दा सहकारी क्षेत्रले थप समस्या झेल्नु परेको उनीहरुको कथन छ ।

