ललितपुर/ ६५औं राष्ट्रिय सहकारी दिवसको नारा पनि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” तय भएको जानकारी प्राप्त भएको छ । सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले यो वर्ष पनि सोही नारा तय गरेको बताइएको छ । गत वर्ष ६४औं राष्ट्रिय सहकारी दिवसको पनि यही नारा तय भएको थियो । यो नाराको सान्दर्भिकता अझै रहेकोले यसलाई ६५औं राष्ट्रिय सहकारी दिवसको नारा कायम गरेको सहकारी अभियानका नेताहरुको भनाई छ ।
राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले ६५औं राष्ट्रिय सहकारी दिवसको लागि सिफारिस भएर आएका नाराहरु मध्ये उत्कृष्ट नारालाई पुरस्कारको व्यवस्था गरिने छ भनी १५ दिनको समय दिएर उपयुक्त नारा सिफारिस गर्न सरोकारवालाहरुलाई आग्रह गरेको थियो । यसरी प्राप्त भएका नाराहरु मध्ये यो नारा नै उपयुक्त देखिएकोले यसलाई ६५औं राष्ट्रिय सहकारी दिवसको नारा तय गरेको जनाइएको छ ।
वि.सं.२०१३ चैत्र २० गते चितवनमा बखान सहकारी संस्था लि.स्थापना भएको दिनलाई नेपालमा राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने गरिएको छ ।