कांगेस आईको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित , २४ वर्ष पछि गान्धी परिवार बाहिरबाट पार्टी नेतृत्वमा

सोमबार सम्पन्न भारतीय मुख्य विपक्षी दल कांग्रेस आईको अध्यक्ष पदको निर्वाचनबाट सांसद समेत रहेका कांग्रेस आईका चर्चित नेता शशि थरुरलाई पछि पार्दै पूर्व केन्द्रीय मन्त्री समेत रहेका ८० बर्षीया मल्लिकार्जुन खड्गे अत्याधिक मत प्राप्त गरी विजयी हुनुभएको जनाइएको छ । अध्यक्षमा निर्वाचित खड्गेले कूल खसेको मतको ९० प्रतिशत मत प्राप्त गर्नु भएको वीवीसीले जनाएको छ । अध्यक्षमा पराजीत थरुरले भने १० प्रतिशत मत मात्रे प्राप्त गर्नु भएको छ । पराजित थरुरले यो निर्वाचनमा अनियमितताका घटना भएका बताउनुभएपनि अध्यक्षमा निर्वाचित खड्गेलाई नम्रतापूर्वक बधाई दिनुभएको छ । अध्यक्षमा निर्वाचित अध्यक्ष खड्गेले कांग्रेस आईको संगठनलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दक्षिण भारतका दलित समुदायबाट अगाडि आएका खड्गे अध्यक्षमा निर्वाचित भएसँगै २४ वर्ष पछि भारतीय मुख्य विपक्षी दल कांग्रेस आईको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ । यद्यपि , अध्यक्षमा निर्वाचित खड्गेको गान्धी परिवारसँग निकट सम्बन्ध रहेको बताइएको छ ।

कांग्रेस आईको जहरलाल नेहरु, इन्दिरा गान्धी , राजिव गान्धी , सोनिया गान्धी र राहुल गान्धीले लामो समयसम्म नेतृत्व गरेका थिए । यी मध्ये पनि सोनिया गान्धीले सन् १९९८ देखि सन् २०१७ र सन् २०१९ देखि सन् २०२२ सम्म २२ वर्ष नेतृत्व सम्हाल्नु भएको थियो । बीचमा सन् २०१७ देखि सन् २०१९ सम्म सोनिया गान्धीका पुत्र राहुल गान्धीले कांग्रेस आईको नेतृत्व सम्हाल्नुभएको थियो सन् २०१४ मा झैं सन् २०१९ को लोक सभाको निर्वाचनमा कांग्रेस आईले पराजय भोगेपछि राहुल गान्धीले कांग्रेस आईको अध्यक्ष पदबाट राजिनामा दिनुभएको थियो । त्यसपछि सोनिया गान्धीले कांग्रेस आईको नेतृतव सम्हाल्दै आउनुभएको छ । सन् १९९८ मा तत्कालीन अध्यक्ष सीताराम केसरीलाई बिस्थापित गरी कांग्रेस आईको अध्यक्ष बन्नुभएकी सोनिया गान्धीको नेतृत्वमा सन् २००४ र सन् २००९ मा सम्पन्न भारतको लोक सभा चुनावमा कांग्रेस आईले जितेको थियो तर सन् २०१४ पछि भने कांग्रेस आईको ओरालो यात्रा लागेको थियो , जो अहिले पनि जारी छ । सो पार्टीको नव निर्वाचित अध्यक्ष मल्लिकार्जुन खड्गेको नेतृत्वमा कांग्रेस आईको अवस्था कस्तो हुने हो , त्यो त आगामी दिनमा देखिने नै छ ।

Leave a Reply