सी जिन पिङ चिनीया कम्युनिष्ट पार्टीको पुन: महासचिव चयन

चिनीया कम्युनिष्ट पार्टीको जारी २०औं महाधिवेशनले चिनीया राष्ट्रपति सी जिन पिङ पुन: तेश्रो कार्यकालका लागि चिनीया कम्युनिष्ट पार्टीको महासचिव चयन गरेको बताइएको छ । सन् २०२२ अक्टोबर १६ बाट बेजिङमा शुरु भएको उक्त महाधिवेशनले सी विचारधारालाई थप मजबुत बनाउने निर्णय गर्नुका साथै शनिबार २०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । आजै चिनीया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले २५ सदस्यीय पोलिटव्युरो र ७ सदस्यीय पोलिटव्युरो स्थायी समिति चयन गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । पोलिटव्युरो स्थायी समितिमा महासचिव सी जिन पिङ तथा सदस्यमा ली चियाङ , चाओ लेची , वाङ हुनिङ , काइ ची , तिङ सुइसियाङ र ली सी हुनुहुन्छ ।

यस अघि पछिल्लो समय एक व्यक्ति २ कार्यकाल मात्रै चिनीया कम्युनिष्ट पार्टीको महासचिव बन्ने परिपाटी निर्माण गरिएको थियो । तेश्रो कार्यकालका लागि महासचिव चुनिएका सी जिन पिङ चिनीया कम्युनिष्ट पार्टीको इतिहासमा अध्यक्ष माओ त्से तुङ पछिका शक्तिशाली नेता बन्नुभएको जानकारहरु बताउछन् । चिनीया कम्युनिष्ट पार्टीको तेश्रो कार्यकालका लागि पुन: महासचिव चयन हुनुभएका सी जिन पिङ थप ५ वर्ष चीनको राष्ट्रपति र चिनीया जनमुक्ति सेनाको प्रमुख रहनु हुने छ । राष्ट्रपति सीले चिनीया विशेषता अनुरुपको समाजवाद निर्माण गर्ने अवधारणा अगाडि बढाउनुभएको छ ।

चिनीया कम्युनिष्ट पार्टीको यो महाधिवेशनबाट यस अघिको स्थायी समितिका ४ जना सदस्यले अवकास लिनु भएको बताइएको छ । यसरी अवकास लिने पोलिटकल स्थायी समिति सदस्यहरुमा प्रधानमन्त्री ली खछ्याङ , पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष वाङ याङ , चिनीया जन कंग्रेसका अध्यक्ष ली चान्सु र उप-प्रधानमन्त्री हान झेन हुनुहुन्छ । उहाँहरु सन् २०२३ मार्च महिनामा राज्यका ती पदबाट बिदा भएपछि रिक्त हुने ती ४ पद मध्ये प्रधानमन्त्री पोलिटव्युरो स्थायी सदस्य ली चियाङ बन्ने निश्चित भएको छ भने बाँकी ३ पद पोलिटव्युरो स्थायी समितिका ५ सदस्य मध्ये ३ जनाले सम्हालनु हुने बताइएको छ ।

४ वर्ष अघि सम्पन्न उक्त पार्टीको १९औं महाधिवेशनले राष्ट्रपति सीलाई अर्को कार्यकाल पनि चिनीया कम्युनिष्ट पार्टीको महासचिव हुने बाटो खोल्नुका साथै ‘सी विचारधारा’ पारित गरेको थियो ।

Leave a Reply