आजदेखि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित सिद्धार्थ गौतम अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । वरिष्ठ क्यापटेन दिपु जुहार्चन नेतृत्वको चालक दलले ९१ यात्रु बोकेर क्वालालम्पुरबाट उडाएको नेपाल वायुसेवा निगमको एयरबस ३२० आज विहान ८ बजे भैरहवास्थित सिद्धार्थ गौतम अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण ग-यो । सो जहाजलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती सहितका अधिकारीहरुले स्वागत गरेका थिए ।
शनिबार र मंगलबार गरि हप्ताको २ दिन नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजाबाहक जहाजले क्वालालम्पुर -भैरहवा-काठमाडौं उडान गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्मार्ण सम्पन्न भएपछि १३ महिना अघि त्यहाँ परीक्षण उडान पनि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले नै गरेको थियो ।
यस अघि सो विमानस्थलबाट २०७९ जेठ २ गतेदेखि कुबेतको जजिरा एयर र २०७९ कार्तिक २७ गतेबाट हिमालयन एयरलाइन्सका जहाजले व्यवसायिक अन्तर्राष्ट्रिय उडान शुरु गरेका थिए तर यात्रु अभावले गर्दा घाटा भएको भन्दै ती दुवै एयरलाइन्सले त्यहाँबाट आफ्नाव व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेका थिए ।





