नेपाल हस्तकला महासंघको त्रिवर्षिय रणनीति र योजना तर्जुमा

नेपाल हस्तकला महासंघको २०८१ पौष २६ र २७ गते सम्पन्न भएको ४४औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्य समितिबाट आफ्नो कार्यकाल भित्र गर्ने योजना तथा कार्यक्रम र रणनीति तय गर्नको लागि आज काठमाडौँमा त्रिवर्षिय रणनीति सहित कार्य योजना तर्जुमा गोष्ठी आयोजना गरियो । उक्त गोष्ठीमा सो महासंघका नव निर्वाचित अध्यक्ष रविन्द्र शाक्यले स्वागत मन्तव्य सहित आफ्नो त्रिवर्षिय योजना सहितको मार्ग चित्र (Road Map) प्रस्तुत गर्नुभयो । अध्यक्ष शाक्यले प्रस्तुत गर्नुभएको मार्ग चित्रमा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिलाउने, हस्तकला नीतिलाई पुनरावलोकन गरी नेपाल सरकारबाट स्वीकृत गराउने, हस्तकला वस्तुको आन्तरिक बजार विकासको लागि नेपाल सरकारका निकायहरुबाट हस्तकला वस्तुको अधिक उपयोग गराउन पहल गर्ने, सार्वजनिक खरिद ऐनलाई ब्यवहारिक बनाई हस्तकला वस्तु नेपाल सरकारमा आपूर्ति गर्न सहज वातावरण बनाउने, १२ अरवको निर्यात ब्यापार सोही रकम बराबरको आन्तरिक विक्री र ११ लाख भन्दा बढी ब्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न रहेको हस्तकला उद्योग ब्यवसायलाई हेर्ने छुट्टै विभाग स्थापनाको लागि पहल गर्ने, अनलाईन भुक्तानी प्रणालीलाई सरल तुल्याउने, हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनको लागि सम्भाब्य देखिएका देशहरुमा एक देशीय मेला (Single Contry Show) आयोजना गर्ने , हस्तकला ग्राम र सार्क हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनमा नेतृत्वदायी भूमिका खेल्ने, हस्तकला वस्तुको निकासीमा विजक मूल्याङ्कनलाई अनिवार्य तुल्याउने, महासंघको संस्थागत विकासमा विशेष जोड दिने आदि विषयवस्तुहरु रहेको सोही महासंघका महानिर्देशक उत्तमप्रसाद देवकोटाद्वारा हस्ताक्षर गरी आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सो गोष्ठीमा त्यसै महासंघका विभिन्न ७ वटा परिषद्हरुले आ-आफ्नो तीन वर्षको कार्ययोजना सम्बन्धित परिषद्का सभापतिहरु वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी सचिवालयको कार्य योजना तथा हाल रहेका यो महासंघका महत्वपूर्ण परियोजनाहरुको प्रस्तुतिकरण उक्त महासंघका महानिर्देशक देवकोटाले गर्नु भएको थियो । अध्यक्ष तथा परिषद्का सभापतिहरुबाट प्रस्तुत ३ वर्षका मार्ग चित्र तथा परिषद्हरुका कार्य योजना तथा कार्यक्रम एवं सचिवालयको कार्य योजना माथि गोष्ठीमा सहभागी हुनुभएका सो महासंघका पूर्व अध्यक्षहरु बागमती प्रदेश हस्तकला संघ, जिल्ला हस्तकला संघ, वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु र नियातकर्ता, कलाकारहरुबाट आवश्यक पृष्ठपोषण (Feedback) प्राप्त गरी अध्यक्षको मार्ग चित्र (Road Map) र परिषद् तथा सचिवालयको आगामी तीन वर्षिय योजना तथा कार्यक्रमलाई अन्तिम रुप प्रदान गरिएको थियो । गोष्ठीमा प्रमुख अतिथि तथा वक्ताको रुपमा त्यसै महासंघका पूर्व अध्यक्ष इन्द्रबहादुर शाक्यले गोष्ठीको उद्घाटन गर्दै महत्व र ब्यवहारिक कार्य योजना एवं महासंघको आर्थिक सवलिकरण माथि आफ्नो धारण राख्नु भएको थियो । गोष्ठीमा औँल्याइएका महत्वपूर्ण पृष्ठपोषण सुझाव सहितको निस्कर्ष अध्यक्ष रविन्द्र शाक्यले प्रस्तुत गर्नु भएको थियो । उक्त गोष्ठीमा सहभागी सबैलाई सोही महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो । गोष्ठीमा, कार्य समिति, पूर्व अध्यक्षहरु, जिल्ला तथा वस्तुगत संघ, निर्यातकर्ता, उद्यमी ब्यवसायी कलाकार, कर्मचारी सहित करिव ७० जनाको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण त्यसै महासंघका महानिर्देशक देवकोटाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *