पर्यटन मन्त्री पाण्डेसँग सीएनआई पर्यटन समितिको छलफलः पर्यटन क्षेत्रको विकासमा काम गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

नेपाल उद्योग परिसंघ (CNI)अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । आज मन्त्री पाण्डेलाई बधाइ तथा शुभकामना दिदै सो समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजाबाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ । यस्तै हवाई दुर्घटना न्यूनिकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि उक्त समितिले सुझाव दिएको छ ।
त्यस अवसरमा नेपाल उद्योग परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिनुहुँदै सोही परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताउनुभयो । पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउदै उहाँले समस्या समाधानका उपाय समेत सुझाउनुभयो ।
यसैगरी छलफलमा त्यसै नेपाल उद्योग परिसंघ अन्तर्गतको पर्यटन समिति सदस्य रविचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गर्नुभयो । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मुल्य धेरै भएकोले लक्ष्य अनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने बताउनुभयो। उहाँले हवाई टिकटमा लगाईएको मुल्य अभिबृद्धी करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै उक्त समितिका सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागि नेपालले पहुँच बृद्धी गर्नु जरुरी रहेको बताउनुभयो । जसकालागि नेपालबाट यूरोप जान आउनका लागी सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सुचीबाट हटाउन प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानकालागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताउनुभयो । २०८३ भदौसम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उहाँले बताउनुभयो । पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाडै आउने समेत जानकारी गराउनु हुँदै उहाँले नेपाल एयरलाइन्सलाई सवल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिदै अगाडि बढ्ने बताउनुभयो ।
सो अवसरमा नेपाल उद्योग परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरु हिक्मत सिंह ऐर, तिलक लामा, दीपकराज जोशीलगायतले सुझावसहित मन्त्री पाणडेलाई बधाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *