अर्जेन्टिना र फ्रान्स कतार विश्वकप फुटबलको उपाधिका लागि आज भिड्ने

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । नेपाली समय अनुसार आज साझ ८:४५ बजे लुसेल रंगशालामा सो विश्वकप फाइनल खेल हुदै छ । दुई पटक विश्वकप उपाधि जितेका दुबै टोलीले आजको खेल जित्न प्रयत्न गर्ने छन् । यो विश्वकप सहित सन् १९३०, सन् १९७८ , सन् १९८६, सन् १९९० र सन् २०१४ मा फाइनल प्रवेश गरेको अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ को फिफा विश्वकप फुटबल जितेपनि ऊ सन् १९३० को पहिलो विश्वकपमा उरुग्वे तथा सन् १९९० र सन् २०१४ मा फ्रान्ससँग स्तब्ध भएको थियो । ऊ आजको खेल जितेर नयाँ इतिहास निर्माण गर्ने प्रयत्नरत छ । यो विश्वकपको लिग चरणको पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित भएपनि त्यस यताका ५ खेलमा अर्जेन्टिना अपराजित छ । क्याप्टेन लियोनल मेसी , एञ्जेल डी मारिया सहितका पाका खेलाडीदेखि जुलियन अल्भारेजसम्मका युवा खेलाडीहरु रहेको अर्जेन्टिना जसरी पनि यो खेल जित्ने योजनामा छ ।

उता यो सहित सन् १९९८, सन् २००६ र सन् २०१८ मा फिफा विश्वकप फुटबलको फाइनल पुगेको फ्रान्स सन् १९९८ र सन् २०१८ को विश्वकप फुटबलको विजेता बनेको थियो तर सन् २००६ को फिफा विश्वकप फुटबलमा भने उसका प्रमुख खेलाडी जिनेदिन जिदान फल गरेपछि रातो कार्ड पाएर खेल मैदानबाट बाहिरिएपछि ऊ इटालीसँग स्तब्ध भएको थियो । यो खेलमा इटालीका खेलाडी माटेराजीले फ्रान्सका सुपरस्टार खेलाडी जिनेदिन जिदानलाई नराम्रो गाली गरेपछि रिसाएका जिदानले रिस थाम्न नसकेर उनै माटेराजीको छातीमा टाउकोले हिर्काएपछि उनलाई रेफ्रीले तत्कालै रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए ।

लिग चरणको अन्तिम खेलमा ट्युनिसियासँग १-० गोल अन्तरले पराजित भएको फ्रान्स त्यस अघि र पछिका सबै खेलमा अपराजित छ । फ्रान्सको टोलीमा स्टार खेलाडीहरुको बाहुल्यता छ । यस अघिको फिफा विश्वकप फुटबल विजेता फ्रान्स आजको खेल जितेर नयाँ इतिहास निर्माण गर्ने योजनामा छ । जसका कारण आजको अर्जेन्टिना र फ्रान्स बीचको फाइनल खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने खेल विश्लेषकहरुको आँकलन छ । आजको यो खेललाई फ्रान्सको पेरिस सेण्ट जर्मन क्लवमा सँगै व्यवसायिक फुटबल खेलिरहेका दुई स्टार खेलाडी लियोनल मेस्सी र केलियन एम्बाप्पे बीचको भिडन्तको रुपमा पनि कतिपयले लिएको पाइन्छ ।

आजबाट कतारमा जारी फिफा विश्वकप फुटबल सम्पन्न हुदै

गत मंसिर ४ गतेदेखि कतारमा शुरु भएको २२औं संस्करणको फिफा विश्वकप फुटबल आज अर्जेन्टिना र फ्रान्स बीच फाइनल खेल सम्पन्न भएसँगै सकिने छ । १ महिनसम्मको यो विश्वकप फुटबलका ६४ मध्ये ६३ खेल सम्पन्न भएको छ ।

अर्जेन्टिना र फ्रान्स बीच फाइनल खेल सकिएसँगै यो विश्वकपको विभिन्न विधामा विजेता देश र खेलाडीलाई आजै साझ पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply