लोकेश्वर साकोसको १८औं स्थापना दिवसमा व्याडमिण्टन प्रतियोगिता हुदै

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा सो संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा अन्तर सदस्यीय पुरुष एकल ब्याडमिण्टन प्रतियोगिता यही पुस २९ गते शुक्रबार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि भक्तपुर नगरपालिकाको साविकको वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले युवाहरुलाई खेलकुद र शिक्षामा आवद्ध गराउन सके त्यसबाट सभ्य समाजको निर्माण हुने र स्वस्थ रहन कुनै न कुनै खेलमा लाग्नु पर्ने बताउनुभयो ।

सो अवसरमा सोही संस्थाका अध्यक्ष राजन जतिले सहकारीहरुले समुदायमा आधारित रहेर वित्तीय कारोबार सगै अतिरिक्त क्रियाकलापहरु पनि गर्दै लैजानु पर्ने बताउनुभयो । उक्त संस्थाका युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको सो कार्यक्रममा त्यसै संस्थाका सदस्य इन्द्र भक्त पंचले पनि प्रतियोगिताको महत्व बारे प्रकाश पार्नुभयो ।

शुक्रबार भएको उक्त प्रतियोगिताको क्वार्टर फाइनल खेलमा विकास पंचले विष्णुप्रसाद कर्माचार्यलाई, पुण्यराम स्वंगमिखाले प्रेमसुन्दर पक्कालाई, राज खुसुजूले रामकृष्ण खुसुलाई र प्रशँन्त देशेमरुले अनुभव पंचलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश हुन सफल भएका छन् ।

त्यस अवसरमा संयोजक छुकांले जारी प्रतियोगिताको सेमी फाइनल र फाइनल खेल आज हुने जानकारीे दिनुभयो ।

उक्त संस्थाको १८औं स्थापना दिवसको अवसरमा यस अघि रक्तदान कार्यक्रम , स्वास्थ्य शिवीर , वित्तीय साक्षरता लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।

Leave a Reply