सरकारले नामिबिया र स्कटल्याण्डलाई हराएका नेपाली क्रिकेट खेलाडीलाई जनही रु.२ लाख प्रदान गर्ने

यसै महिना सम्पन्न आईसीसी लिग २ अन्तर्गतको नेपाल , नामिबिया र स्कटल्याण्ड बीचको एक दिवसीय खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेका नेपाली क्रिकेट खेलाडीहरुलाई सरकारले जनही रु.२ लाखका दरले पुरस्कार प्रदान गरी सम्मान गर्ऩे भएको छ । त्रि.वि. मैदान कीर्तिपुरमा सम्पन्न भएका नामिबिया र स्कटल्याण्ड बीचका २/२ खेल जितेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो घोषणा गर्नु भएको हो । सरकारको यो कार्यप्रति नागरिकहरुले प्रशंसा व्यक्त गरेका छन् ।

सन्दीप लामिछानेलाई युएईमा क्रिकेट खेल्न जान दिनु खेलाडी र नागरिकहरुको आग्रह

खेलाडी तथा नागरिकहरुले स्पीनर सन्दीप लामिछानेलाई आईसीसी क्रिकेट लिग २ को नेपाल, युएई र पपुवानिगिनी बीचको एक दिवसीय खेल खेल्न जान दिन सरकारसँग माग गरेका छन् । नाबालिका बलत्कार आरोपी सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाउने गरी आदेश जारी गरेकोप्रति टिप्पणी गर्दै डुल्न , घुम्न , तथा व्यापार व्यवसाय गर्न मात्रै उनलाई रोक लगाएर राष्ट्रका लागि खेल्न भने उनलाई जान दिन उनीहरुले सरकारलाई अनुरोध गरेका छन् । यही १५ गतेदेखि दुबईमा हुने ती खेलका लागि क्यानले घोषणा गरेको राष्ट्रिय टोलीमा सन्दीप लामिछानेलाई समावेश गरिएको छैन । सन्दीप लामिछानेलाई दुबईमा हुने ती खेल खेल्न जान वातावरण मिलाउन क्यानले राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गरेपनि राष्ट्रिय खेलकुद परिषदबाट त्यस बारेमा सकारात्मक जवाफ नआएकोले त्यसो गर्नु परेको जनाइएको छ ‌। ती खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि दुबई जाने छन् ।

यता सन्दीप लामिछानेले ती खेलहरु खेल्न जान दिन माग गरी सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उक्त निवेदन माथि आज सुनुवाई हुने जानकारी प्राप्त भएको छ ।

Leave a Reply