ललितपुरको मंगलबजारस्थित भीमसेन मन्दिरको पुन:निर्माण सम्पन्न

ललितपुर/ २०७२ साल बैशाख १२ गते गएको भूकम्पबाट क्षतविक्षत भएको ललितपुरको मंगलबजारमा रहेको भीमसेन मन्दिरको पुन:निर्माण सम्पन्न भएको छ । पाटन दरवार स्क्वायरमा रहेको सो मन्दिरको पुन:निर्माण सकिएको आज मंगलबजारमा आयोजित कार्यक्रमका बीच घोषणा गरिएको हो । पुन:निर्माण सकिएसँगै आजदेखि सबैका लागि उक्त मन्दिर खुल्ला गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछों लगायतले त्यस मन्दिरको अवलोकन गरी मन्दिर पुन:निर्माण सम्पन्न भएको घोषणा गर्नु भएको थियो । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा रु.५ करोड लागतमा उक्त मन्दिर पुन:निर्माण सम्पन्न भएको जनाइएको छ । ललितपुर महानगरपालिका सहित बिभिन्न संघ/संस्था र व्यक्तिहरुले त्यस मन्दिर पुन:निर्माणको लागि आर्थिक सहयोग गरेका थिए । भीमसेन मन्दिरको पुन:निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको भनाई छ । त्यसै अवसरमा सो मन्दिर पुन:निर्माणका लागि सहयोग गर्ने सबैलाई ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछोले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

भीमसेन मन्दिर पुन:निर्माण सम्पन्न भएको घोषणा कार्यक्रममा नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, ललितपुर महानगरपालिकाका प्रहरी , स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ‌। त्यसै अवसरमा नेवारी संस्कृति झल्किने झाँकी समेत प्रस्तुत गरिएको थियो ।

उक्त मन्दिरको पुन:निर्माण सम्पन्न भएपनि त्यस आसपासका २०७२ सालको भूकम्पबाट क्षति भएका त्यस आसपासका तलेजु देगु मन्दिर, भाइदेगु मन्दिर र नर्सींह मन्दिरको पुन:निर्माण भने जारी रहेको बताइएको छ ।

Leave a Reply