हिन्दु धर्मावलम्बीहरु मठमा तुलशी रोप्तै, मुडुला कार्कीहरुले रोपेनन् मठमा तुलशी

काठमाडौं/ तिथिले आज हरिशयनी या असारको ठूलो एकादशी परेकाले हिन्दु धर्मावलम्बीहरुले नुहाई धुवाई गरी चोखोनितो भएर आ-आफ्नो घर आँगनमा मठ बनाएर तुलशीको विरुवा रोपेका छन् । एक महिना अगाडि तुलशीको पाकेको दाना दल राखेर उमारेको तुलशीको विरुवालाई घरको आँगनमा मठ बनाएर त्यसमा रोपिएको छ । यतिबेला शहरमा भने जग्गाको समस्याले मानिसहरुले आफ्नो घरको छत, कौशी या प्यासेजमा मठ बनाएर तुलशी रोप्न गरेको देखिन्छ । आज विधिपूर्वक रोपेको तुलशीको हरिबोधनी या कार्तिको ठूला एकादशीका दिन सालिग्रामसँग विवाह गरी दिने परम्परा रहेको बताइन्छ । आयुर्वेदमा तुलशीलाई महत्वपूर्ण औषधि मानिएको छ । हरिशयनी एकादशीका दिन धानबाट बनेको परिकार खान हुदैन भन्ने धार्मिक विश्वास यो समुदायका धेरै मानिसमा रहेको पाइन्छ ‌‌‌‌। आज धेरै मानिसहरुले ब्रत बसेको पनि देखिएको छ ‌ । आजबाट हरिबोधनी एकादशीसम्म भगवान विष्णु शयन गर्छन् भन्ने उनीहरुमा धार्मिक विश्वास रहेको पाइन्छ ‌।

यता हिन्दु संस्कृतिलाई अवलम्बन गरेका मुडुला कार्कीहरुले भने आज पनि मठ बनाएर त्यसमा तुलशीको विरुवा रोपेको देखिएन । हरिशयनी एकादशीमा मठ बनाएर तुलशी नरोप्ने र तिहारमा गाई गोरुको पुजा नगर्ने उनीहरुको चलन रहदै आएको जानकारहरु बताउछन् । पछिल्लो समयमा भने कतिपय मुडुला कार्कीले औषधिको लागि मठमा नभई गमला या प्लाष्टिकको भाडोमा तुलशी रोप्ने गरेको पाइएको छ ‌।

Leave a Reply