कक्षा १२ को परीक्षाको नतिजा निराशाजनक

शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाको नतिजा अनुसार ४८.१० प्रतिशत मात्रै विद्यार्थीले ग्रेड हासिल गर्नु र ५१.९० प्रतिशत विद्यार्थीको नतिजा ननग्रेड हुनुले यो नतिजा निराशाजनक रहेको सरोकारवालाहरुले बताएका छन् । एक समय शैक्षिक गणतान्त्रिक मञ्चको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले कक्षा १२ यो नतिजा साह्रै निराशाजनक देखिएको भन्दै शिक्षा क्षेत्रको गुणस्तर बृद्धिका लागि सम्बन्धित सरोकारवालाहरु जिम्मेवार बन्नु पर्ने बताउनुहुन्छ । यसैगरी अखिल नेपाल विद्यार्थी पूनियनका अध्यक्ष मनिष भट्टराईले कक्षा १२ को नतिजा हेर्दा यसले शिक्षाको गुणस्तर खस्किएको देखिएको बताउनु भएको छ ।अलगपथसँग कुरा गर्दै उहाँले राज्यले एकातिर शिक्षा क्षेत्रमा आवश्यक बजेट नछुट्टयाउनु र छुट्टयाएको बजेट पनि लक्षित क्षेत्रमा समयमा पुग्न नसक्नु , सार्वजनिक विद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति समर्पित र जिम्मेवार बन्ने भन्दापनि आफू सम्लग्न राजनीतिक दलका गतिविधिमा बढी समर्पित हुने प्रवृत्ति जस्ता कारणले शिक्षाको गुणस्तर खस्केको बताउदै शिक्षाको गुणस्तर बृद्धिका लागि राज्य तथा सम्बन्धित सरोकारवाला पक्ष जिम्मेवार बन्नु पर्ने खाँचो औंल्याउनुभयो । शिक्षा क्षेत्रमा रहेका अन्य सरोकारवालाहरुले पनि कक्षा १२ को नतिजाप्रति निराशाजनक अभिव्यक्ति दिएका छन् तर राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भने कक्षा १२ को नतिजा निराशाजनक नरहेको सञ्चारकर्मीहरुलाई बताउनु भएको छ ।

कूल ४,१०,०६८ जना विद्यार्थीले कक्षा १२ को परीक्षाको फारम भरेपनि गत जेठ १६ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन भएका ३,६३,००८ जना विद्यार्थी मात्रै उक्त परीक्षामा सहभागी भएको बताइएको थियो । यो परीक्षामा सहभागी मध्ये ४३ जनाको परीक्षा रद्ध गरिएको जनाइएको छ । ३.६ जीपीए कटाएका ७,०६३ जना विद्यार्थीमध्ये ४ ,१७९ जना विद्यार्थीले ६.६१ देखि ४ जीपीए ल्याएको उक्त नतिजामा उल्लेख छ । यस परीक्षामा ननग्रेड भएका १,८८,४१० जना परीक्षार्थीमध्ये १,३०,८७८ ग्रेड बृद्धिका लागि २ विषयसम्मको पुन: परीक्षा दिन पाउने तर ५७,५३२ जनाले कक्षा १२ को सबै विषयको पुन: परीक्षा दिनु पर्ने उक्त बोर्डको भनाई छ । कक्षा १२ को यो परीक्षामा सहभागी आंशिकतर्फका ३,१३२ जनामध्ये १,२८८ जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । ‌

Leave a Reply