अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशमा १,५७९ प्रतिनिधि रहने

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन यही फाल्गुण २ देखि ४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा देशभरबाट १,५७९ जना प्रतिनिधि रहने सो संगठनले जनाएको छ । महाधिवेशनमा भाग लिन काठमाडौं उपत्यका बाहिरबाट आउने प्रतिनिधिहरुलाई होटलमा बस्ने व्यवस्था गरेपनि काठमाडौं उपत्यका भित्रका प्रतिनिधिहरुले भने आफ्नो बसाई आफै व्यवस्था गर्नु पर्ने उक्त संगठनका नेताहरुको भनाई छ । ४ जनाले उक्त संगठनको भावी अध्यक्षको लागि दावेदारी प्रस्तुत गरेपनि अन्तमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव श्रमिक बडाल यो महाधिवेशननमा अनेरास्ववियुको भावी नेतृत्वको लागि मुख्य दावेदार हुन सक्ने कतिपय जानकारहरुको भनाई छ तर सर्वसम्मत नेतृत्वको लागि पहल पनि भइरहेको बताइएको छ । यदी नेतृत्व चयन सर्वसम्मतीबाट हुन नसकी चुनाव हुने अवस्था आएमा विद्युतीय मतदान उपकरणको प्रयोग गर्ने उक्त संगठन श्रोतले जनाएको छ ।

यो सम्मेलन सम्पन्न गर्न संगठनका अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव श्रमिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति निर्माण गरिएको छ ।

२०७२ सालमा २२औं राष्ट्रिय महाधिवेशन गरेको उक्त संगठनको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भई पुन: नेकपा (एमाले) बनेपछि भने यो पहिलो महाधिवेशन हो । नेकपा (एमाले) र नेकपा (माके) बीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको समयमा भने उक्त पार्टी निकट रहेको विद्यार्थी संगठनको महाधिवेशन हुन सकेन । यस संगठनको २३औं राष्ट्रिय यहाधिवेशनको मूल नारा नि:शुल्क स्वास्थ्य , शिक्षा र पूर्ण रोजगार , समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा , गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ !! तय गरिएको छ । यस महाधिवेशनले १७ पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी तथा अध्यक्ष र सचिव सहितको १५/१५ सदस्यीय लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोग चयन गर्ने बताइएको छ ।

उक्त संगठनकी अध्यक्ष सुनिता बराल समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भई सक्नुभएको छ । बराल मात्रै होइन उक्त संस्थाको अध्यक्ष रहेकै समयमा २०५१ सालको मध्यावधि संसदीय निर्वाचनमा रामनाथ ढकाल गुल्मी क्षेत्र नं.१ बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट तथा २०७४ सालमा नवीना लामा समानुपातिक निर्वाचन प्रणालीबाट नेकपा (एमाले)को प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

सुजन खरेल (आत्माराम), विश्वकान्त मैनाली , गोविन्द श्रेष्ठ , मुकुन्द श्रेष्ठ , टंक कार्की , चन्द्र भण्डारी , राम ज्ञवाली , तुलबहादुर गुरुङ , शंकर पोखरेल , रामनाथ ढकाल , योगेश भट्टराई , अरुण नेपाल , हिक्मत कार्की , राजेन्द्र राई , खिमलाल भट्टराई , ठाकुर गैरे , रामकुमारी झाक्री , माधव ढुंगेल , किशोर विक्रम मल्ल , नवीना लामा , ऐन महर र सुनिता बराल यो संगठनका अध्यक्ष बनेका छन् । २०५४ सालमा नेकपा (एमाले) विभाजन भई नेकपा (माले) बनेसँगै सो पार्टी निकटको अनेरास्वियूको अध्यक्ष भने योगेश भट्टराई , रुपनारायण श्रेष्ठ र रविन्द्र अधिकारी अध्यक्ष बन्नुभएको थियो । २०५८ सालमा बामदेव गौतम नेतृत्वमा उहाँ पक्षधर नेता कार्यकर्ता नेकपा (एमाले) मा विलय भएसँगै योगेश भट्टराई , रुपनारायण श्रेष्ठ सहित अनेरास्ववियूको रविन्द्र अधिकारी पक्षधर नेता कार्यकर्ता नेकपा (एमाले) निकट अनेरास्ववियुमै फर्केका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *