यसपटक म ललितपुर जिल्ला बचत संघको अध्यक्षको उम्मेद्वार बन्दैछु

-नरेन्द्र महर्जन , अध्यक्ष पदका उम्मेद्वार , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नयाँ नेतृत्व चयन सहितको २८औं वार्षिक साधारण सभा यही भदौ २७ गते हुदैछ । देशभरका जिल्ला स्तरका सहकारी संघहरु मध्ये सबैभन्दा बढी आर्थिक कारोवार सञ्चालन गरिरहेको यो संघको सञ्चालक समिति सदस्य भएर २ कार्यकाल कार्य गरी सक्नु भएका सहकारी अभियानकर्मी तथा सोही संघका सञ्चालक नरेन्द्र महर्जनले यस पटक उक्त संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । यसै सन्दर्भमा उहाँले अलगपथका प्रतिनिधिसँग छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१. ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको गतिविधि के छ ?

  • यही भदौ २७ गते सोमबार हाम्रो यस ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको निर्वाचन सहितको २८औं वार्षिक साधारण सभा हुदैछ । यो साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा हामी लागिरहेका छौं ।

२. तपाई पनि यस पटक यो संघको अध्यक्षको उम्मेद्वार बन्ने चर्चा छ नि । यदी यो कुरा साँचो हो भने तपाईको अध्यक्ष पदमा उम्मेद्वारी किन ?

  • म यस पटकको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अध्यक्ष पदमा उम्मेद्वार बन्दै छु । मेरो उम्मेद्वारी नीति , विधि र प्रविधिमा रही सहकारीको मुल्य , मान्यता तथा सिद्धान्तको पालना गराई प्रारम्भिक सहकारी संस्थाहरुको विकास तथा प्रवर्द्धन गर्न र सुशासनमा रही ती संस्थाहरुलाई सञ्चालन गर्न र गराउन मसँग भिजन , मिशन र प्लानिङ छ । यसलाई मूर्त रुप दिनको लागि यो संघको अध्यक्ष पदमा मेरो उम्मेद्वारी रहने छ ।

३. तपाईको यो पदका लागि योग्यता र दक्षता के छ ?

  • म बिगत लामो समयदेखि सहकारी अभियानमा क्रियशील छु । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा नै मैले २ कार्यकाल सञ्चालक रही सफलतापूर्वक भूमिका निर्वाह गरेको छु । यसका साथै मैले त्रिभुवन विश्वविद्यालयबाट म्यानेजमेण्ट अन्तर्गत वित्त शास्त्र (फाइनान्स)मा स्नातकोत्तर (माष्टर्स) उत्तीर्ण गरी विभिन्न कलेजहरुमा अध्यापन लगायतका बौद्धिक कार्य गर्दै आएको छु ।

४. यो संघको नयाँ नेतृत्व चयन सर्वसम्मत ढंगबाट गर्ने गरी कुनै पहल पनि गरदै हुनुहुन्छ की ?

  • सहमती , सहकार्य र सह-अस्तित्व भन्दा ठूलो कुरो अरु केही हुन सक्तैन । सहमती र सहकार्यका लागि हार्दिकता साथ हामी प्रतिबद्ध छौं ।

५. तपाई २ कार्यकाल यो संघको सञ्चालक भएर कार्य गर्दै आउनुभएको छ । तपाईले आफ्नो कार्यकालको मुल्याङ्कन कसयी गरिरहनुभा’को छ ?

  • यो संघलाई आजको अवस्थासम्म ल्याइपु-याउने मुख्य श्रेय यसै संघका संस्थापक अध्यक्ष आदरणीय रोहिणी जोशी र नि:बर्तमान अध्यक्ष रामशरण घिमिरे ज्यूको नेतृत्वको टिमले बसालेको विधि , प्रविधि र थितिलाई अवलम्वन गरी कार्य गरेकोले मेरो दुबै कार्यकाल उपलब्धीमूलक रह्यो ।

Leave a Reply