असोज २० गते नेपाल फर्किने सन्दीप लामिछानेको भनाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले यही असोज २० गते नेपाल फर्किएर आफू माथि लागेको नाबालिका बलात्कारको आरोप बिरुद्ध कानुनी लडाई लढ्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर सो जानकारी दिनु भएको हो । लामिछानेको उक्त जानकारीलाई सकारात्मक रुपमा लिएको नेपाल प्रहरीको भनाई छ । नेपाली भूमि प्रवेश गरेपछि लामिछानेलाई नियन्त्रणमा लिई उहाँको बयान लिने प्रहरीको भनाई छ तर लामिछानेले आफै प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्नु बताउनुभएको छ ‌।

काठमाडौंको एक होष्टेलमा बसिरहेकी एक नावालिकालाई गत भदौ ५ गते राती होटलमा लगेर बलात्कार गरेको आरोप सहित लामिछाने बिरुद्ध गत भदौ २१ गते महानगरीय प्रहरी प्रभाग , गौसाला , काठमाडौंमा किटानी जाहेरी परेपछि सो घटनाको अनुसन्धान थालेको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट लामिछानेलाई पक्राऊ गर्न अनुमती पाएको थियो । लामिछानेले भने आफू माथि लागेको आरोपमा सत्यता नरहेको भन्दै आफू निर्दोष रहेको बताउदै आउनुभएको छ । सो घटनालाई नजिकबाट नियालेका कतिपय मानिसले लामिछानेले नाबालिका माथि बलात्कार गरेको पुष्टि हुन सक्ने तथ्य नदेखिएको सार्वजनिक अभिव्यक्ति दिएका छन् तर प्रहरीले भने यो विषयमा केही बताएको छैन ।

नेपाली राष्ट्रिय टीमको कप्तानको जिम्मेवारीका साथ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्न गत भदौ ६ गते विदेश उड्नु भएको थियो ।

कानुन संशोधनको माग

चलचित्र अभिनेता पल शाह र क्रिकेट खेलाडी सन्दीप लामिछाने माथि १८ वर्ष मुनिका युवतीसँगको यौन सम्बन्ध राखेकाले उनीहरु माथि बलात्कार आरोप लागेसँगै १८ बर्ष भन्दा कम उमेरका युवतीसँग सहमतीमा गरेको यौन सम्बन्ध बलात्कार हुने कानुन संशोधन हुनुपर्ने आवाज उठिरहेको छ ‌।

Leave a Reply