वामपन्थी नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा आज दिउसो काठमाडौंको थापाथलीस्थित नर्भिक इण्टरनेशनल हस्पिटलमा निधन भयो । उहाँको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा पु-पाइएर अन्तेष्टि प्रक्रिया शुरु गरिएको छ ।
झापा संघर्षको रापबाट वामपन्थी राजनीतिमा लागेका नेपाल २०३३ सालको नख्खु जेल ब्रेकमा सम्लग्न थिए , जसको उनले सञ्जय थापाको नामबाट “मुक्त आकाशको खोजी” पुस्तक लेखेर बर्णन गरेका छन् । कुनै समय नेकपा (एमाले)को प्रभावशाली नेता रहेका नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले)को अल्पमतको सरकारमा सूचना तथा सञ्चार र जलश्रोत मन्त्री तथा २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनताकाको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेका थिए , त्यसबेला उनले शिक्षकलाई माइक्रोबसका खलासी भनेर दिएको अभिव्यक्तिका कारण उनी शिक्षकहरुमाझ आलोचित भएका थिए । सांसद समेत भएका नेपाल २०६४ सालको संविधान सभाको निर्वाचानमा काठमाडौं क्षेत्र नं.१ मा नेकपा (एमाले)का उम्मेद्वार बनेपनि पराजित भए । त्यसपछि उनको राजनीति ओरालो लाग्यो । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रहेका उनी २०६५ सालमा सम्पन्न नेकपा (एमाले) आठौं महाधिवेशनमा महासचिव र २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेद्वार बनेपनि पराजित भए । त्यसयता उनी सक्रिय राजनीतिबाट टाढा रही मदन-आश्रित स्मृति प्रतिष्ठानमा सिमित भएका थिए । नेकपा (एमाले)का विभाजन भई बनेको नेकपा (एस)को सल्लाहकार रहेपनि राजनीतिमा निष्क्रिय रहेका नेपाल पछिल्लो समय पार्किन्सस रोगबाट पीडित थिए । अस्वस्थ भएकाले उनलाई केही दिन अघि नर्भिक इण्टरनेशल हस्पिटलमा उपचारका लागि भर्ना गरिएको बताइएको छ । त्यहाँ उनको स्वास्थ्य समस्या थप जटिल भएपछि हिजो भेण्टिलेटरमा राखिएको र उपचारको क्रममा उनको आज दिउँसो निधन भयो ।





