नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ आउदो बैशाख ९ र १० गते धरानमा नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनुभएको छ । सो पार्टीको काठमाडौंमा सम्पन्न ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै मुलुकमा विद्यमान राजनीतिक क्रियाकलाप र त्यसबाट उत्पन्न परिस्थितिका कारण समाजमा नेपाल कम्युनिष्ट पार्टीको आवश्कता र औचित्यता बढ्दै गएको बताउनुभयो । उहाँले नेपालको विकास र प्रगतिमा अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक / नव- औपनिवेशिक व्यवस्थाको पक्षपोषक बनेको संसदवाद बाधक बनेको तथ्यहरुले सिद्ध गरेकोले अबको लडाई असंसदवादका विरुद्ध केन्द्रित गर्नु पर्ने बताउनुभयो ।
३ दिनसम्म चलेको यो कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उद्घाटन गर्दै राजनीतिक कार्यदिशाको बारेमा प्रशिक्षण दिनुभएको थियो । बागमती प्रदेश भित्रका केन्द्रीय समिति सदस्यहरु सहभागी रहेको यो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले मानव समाजको विकास, सोही पार्टीका सचिवालय सदस्यहरु रत्नप्रसाद जोशीले राजनीतिक अर्थशास्त्र र मार्क्सवादी दर्शन , राजेश बान्तवाले संस्कृति , खेमनारायण ढुंगानाले अन्तरविरोध र कृष्णहरि भट्टले पार्टी संगठन बारे प्रशिक्षण दिनुभयो । कार्यक्रमको अन्तमा आफ्नो विचार व्यक्त गर्दै उक्त पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश समिति अध्यक्ष अर्जुन कार्कीले यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको र यस कार्यक्रम समापन नभई शुरुवात मात्रै भएको बताउनुभयो । ‘पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीमा क्रान्तिकारी तथा देशभक्तहरु आवद्ध हुने क्रम चलिरहेको छ र यसले नेपालको कम्युनिष्ट आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी छुट्टै क्रान्तिकारी धारको रुपमा विकास हुदै गएको छ’, उहाँले भन्नुभयो ।





