आज आदिकवि भानुभक्त आचार्यको २१२औ जन्मजयन्ती मनाइदै

नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभुती भानुभक्त आचार्यको आज २१२औं जन्मजयन्ती मनाइदै छ ।विशेषगरी नेपाल तथा विदेशमा रहेका साहित्यिक सर्जक र साहित्यप्रेमीहरुले भानुभक्तको साहित्यिक योगदानको स्मरण गर्दैछन् ।

वि.सं.१८७१;असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मेका भानुभक्तको वि.सं.१९२५ असोज ६ गते निधन भएको थियो । । एकजना घाँस बेचेर जम्मा भएको पैसाले कुवा खनाएर आफ्नो कृति राख्ने एक जना घासीको भनाई सुनेपछि आफूले पनि केही गर्नपर्ने रहेछ भनेर प्रेरित भएका आदिकवि आचार्यले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा उल्था गर्नुकासाथै भक्तमाला, बधुशिक्षा, प्रश्नोत्तर र रामगीता कृतिका साथै फुटकर कविताहरु रचना गरेका छन् । नेपाली साहित्यको प्राथमिककालका केन्द्रीय कवि भानुभक्त आचार्यले रामभक्तिधारालाई अवलम्वन गरेको देखिन्छ । सुब्बा धनञ्जय आचार्य र धर्मदेवीका छोरा भानुभक्तले कुमारीचोकको हिसाब मिलान गर्न नसकेर झ्यालखाना परेपछि ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली …………।” भनी कविता लेखेर तत्कालीन राणा शासनकालीन प्रशासनको बेथितिको उजागर गरेका थिए । बाजे पण्डित श्रीकृष्णबाट प्रारम्भिक शिक्षा पाएका भानुभक्तको नेपाली भाषा साहित्यमा गरेको योगदानलाई युवाकवि मोतिराम भट्टले जनसमक्ष पु-याएका थिए ।

२१२औं भानुजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गरेको योगदानको स्मरण गर्नुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको नाममा तनहुँको भानु नगरपालिकाको नाम राखिएको छ भने भानुभक्तको जन्मथलो चुँदी रम्घा क्षेत्रलाई साहित्यिक पर्यटन क्षेत्रको रुपमा विकास भइरहेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *