आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४७औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपाल कम्युनिष्ट पार्टी सहितका कम्युनिष्ट तथा वामपन्थी दलहरु एवं पुष्पलाल विचार प्रवर्धन केन्द्र, पुष्पलाल स्मृति प्रतिष्ठान लगायतले विभिन्न कार्यक्रम गरि उनको योगदानको स्मरण गर्दैछन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल शहीद गंगालालका माहिला भाइ हुन् । उनी वि.सं.१९८१ साल असार १५ गते जन्मेका थिए । आफ्नै दाजु गंगालालबाट राजनीतिमा लाग्ने प्रेरणा पाएका पुष्पलाल शुरुमा नेपाली कांग्रेसमा लागेका थिए । नेपाली कांग्रेसको गतिविधिबाट परिवर्तन हुने छाँट नदेखेपछि उनी त्यहाँबाट अलग्गिए र कम्युनिष्ट घोषणापत्र लगायतका डकुमेण्ट नेपाली भाषामा उल्था गरे। उनकै अगुवाईमा वि.सं.२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । उनले वि.सं.२००६ देखि वि.सं.२००८ सालसम्म सो पार्टीको नेतृत्व गरेका थिए । त्यसपछि वि.सं.२०२५ सालसम्म नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा मात्रै रहेर काम गरेका थिए उनले । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्रको शान्तिपूर्ण संक्रमणको बाटोबाट अगाडि बढ्ने कि वर्ग संघर्षको बाटोबाट अगाडि बढ्ने भन्ने विवादको अशर नेपाल कम्युनिष्ट पार्टीमा परेपछि यो पार्टी अस्तित्व संकटमा प-यो , जसका कारण उनकै अगुवाईमा वि.सं.२०२५ सालमा भारतको गोरखपुरमा नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्म्मेलन सम्पन्न भयो । यो सम्मेलनले पुष्पलाललाई पुन: नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनाउनुका साथै यो पार्टी वर्ग संघर्षको बाटोबाट अगाडि बढ्ने तथा मार्क्सवाद, लेनिनवाद र माओविचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने तथा नेपाली क्रान्तिको न्युनतम कार्यक्रम नयाँ जनवाद , अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद हुने नीति तय ग-यो । दीर्घकालीन शसस्त्र कृषि क्रान्तिबाट मात्र शोषित पीडित किसानको मुक्ति सम्भव रहेको विचार अगाडि बढाएका उनले त्यसपछि वि.सं.२०३५ सालसम्म नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गरेका थिए । विरामी भएर उपचारका क्रममा उनको वि.सं.२०३५ साल श्रावण ७ गते भारतको दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भयो तर उनको पार्थीव शरीर तत्कालीन पञ्चायती सरकारले नेपालमा ल्याउन दिएन । जसले गर्दा उनको पार्थीव शरीर दिल्लीमै अन्त गरेपनि हालको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारी र दिवंगत आरसी चापागाईँले भूमिगत तवरबाट ल्याएको उनको अस्तु काठमाडौको शोभाभगवतीमा सेलाइएको जानकारहरु बताउछन् ।
उनले आफ्नो अगुजाईमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीलाई अगाडि बढाउन बाचुञ्जेलसम्म सैद्धान्तिक र वैचारिक रुपमा नेतृत्व प्रदान गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेका पुष्पलालले नेपाली समाज, ईतिहास आदिको अध्ययन अनुसन्धान गरेका थिए , जसले गर्दा उनलाई कम्युनिष्ट नेतासँगै इतिहासकार र समाज आदिको अध्येताको रुपमा पनि नेपाली समाजमा परिचित गराएको छ । उनले वर्गी य र सामजिक उत्पीडनको विरोध गर्दै आफ्नो नाम पछि श्रेष्ठ थर लेख्न छाडेका थिए । उनकी पत्नी साहाना प्रधानको पनि निधन भइसकेको छ । उनका छोरा उमेशलाल र छोरी उषा छन् ।





