इमरान खान बिरुद्धको अविश्वास प्रस्ताव माथि आज पाकिस्तानी संसदमा मतदान हुने

काठमाडौं/ पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध पाकिस्तानको संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि आज मतदान हुने भएको छ । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले आजका लागि संसदबाट सो अविस्वासको प्रस्ताव माथि मतदान गर्न आदेश गरेको थियो । उक्त आदेशको विपक्षी दलहरुले स्वागत गरेका थिए भने सत्ताधारी दलका नेता-कार्यकर्ताहरुले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यहाँको संसदबाट अविश्वासको प्रस्ताव पारित भएमा इमरान खान प्रधानमन्त्री पदबाट हट्नु हुनेछ र संसदले नयाँ प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई पत्र पठाउने जानकारहरुले बताएका छन् ।

रुस र युक्रेन वीचको युद्धमा प्रधानमन्त्री खान रुस निकट रहेपछि संयुक्त राज्य अमेरिका सहितका पश्चिमा देशहरुको योजना मुताविक तिनीहरुसँग निकट रहेका विपक्षी दलहरु तथा उहाँको सरकारमा रहेका दलहरुका सांसदहरुको समेत समर्थनमा अघिल्लो हप्ता संसदमा प्रधानमन्त्री खान विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको परराष्ट्र मामिलाका कतिपय जानकारहरुको भनाई छ । उक्त अविश्वासको प्रस्ताव दर्तासँगै त्यहाँको संसदका सभामुख माथि महाअभियोग प्रस्ताव दर्ता भएपछि उप-सभामुखले संसदको नेतृत्व गर्नु भएको छ । उप-सभामुखले उक्त अविश्वास प्रस्ताव खारेज गर्नु भएको थियो । त्योसँगै प्रधानमन्त्री खानले संसद बिघटन गरी नयाँ जनादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्टृपतिले संसद बिघटन गरी चुनाव मिति तय गर्नु भएको थियो । त्यसको विरोधमा विपक्षी दलहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले उप-सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न नमिल्ने भन्दै संसद पुनर्स्थापना गरेको बताइएको छ ।

विपक्षी दलहरुले प्रधानमन्त्री खान विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गरेसँगै शहबाज सरिफलाई पाकिस्थानको नयाँ प्रधानमन्त्रीको प्रस्ताव समेत गरेका छन् । ३४२ सदस्यीय पाकिस्तानको संसदमा प्रधानमन्त्री खान विरुद्धको अविश्वास पारित हुन १७२ जना सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ । यदी यो अविश्वासको प्रस्ताव पारित भए त्यसको २४ घण्टा भित्र शहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री बन्ने निश्चित छ । यता प्रधानमन्त्री खानको समर्थनमा १५५ जना सांसद मात्रै रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply