इलाम क्षेत्र नं.२ का १२ दल र ७ स्वतन्त्र उम्मेद्वारले पाए चुनाव चिन्ह

आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचनमा उम्मेद्वारी दिएका १२ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेद्वारलाई आज निर्वाचन आयोग,नेपालले चुनाव चिन्ह प्रदान गरेको छ । नेकपा (एमाले)का सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बु, राप्रपाका लक्ष्मी् गुरुङ, नेकपा(एस)का जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी ,नेशनल मंगोल अर्गनाइजेशनका मनिबहादुर लिम्बु , राप्रपा नेपालका गणेशबहादुर चौहान, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगरले आफ्नै दलको पुरानै चुनाव चिन्ह पाएका छन् । स्वतन्त्र उम्मेद्वारहरु डकेन्द्र सिंह थेगिमले मुढा, डाकप्रसाद गौतमले महिला, अर्जुनबहादुर शाहीले डोजर, दिपेश बोहोराले सिरिञ्ज , योगेन्द्र गुरुङले कैँची, राज बस्यालले जुँगा सहितक‍ो अनुहार र मनोज निरौलाले माछा चुनाव चिन्ह पाएका छन् ।

१२ दल र ८ स्वतन्त्र गरि २० जनाले त्यहाँ उम्मेद्वारी दर्ता गरेका भएपनि स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईँले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । त कुनै पनि उम्मेद्वार उपर कसैको उजुरी नपरेको निर्वाचन आयोग, नेपालको भनाई छ ।

गत भदौ २५ गते इलाम क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य तथा बिघटित सभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त रहेकाले त्यस क्षेत्रमा निर्वाचन हुन लागेको हो । नेकपा (एमाले)ले पूर्व सभामुख एवं पूर्व मन्त्री दिंवंगत नेम्वाङका काञ्छा छोरा सुहाङलाई उम्मेद्वार बनाएको छ ।

सुहाङलाई नेकपा (माके) र विप्लव नेतृत्वको नेकपाको साथ

इलाम क्षेत्र २ का नेकपा (एमाले)का उम्मेद्वार सुहाङ नेम्वाङलाई नेकपा (माके) र विप्लव नेतृत्वको नेकपाले साथ दिएका छन् । ती दुबै दलले नेम्वाङलाई सहयोग गर्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन गरेको बताइएको छ ।

डकेन्द्रलाई हर्क साम्पाङ सहित जसपा, नेसपा लगायतका पहिचान पक्षधरको साध

इलाम क्षेत्र नं.२ को उप-निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएका डकेन्द्रसिंह थेगिमलाई जसपा, नेसपा सहित पहिचान पक्षधर संघ/संगठनहरुले समर्थन गरेका छन । उनलाई धरान उप-महानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले पनि समर्थन गरेका छन् ।

Leave a Reply