उपराष्ट्रपति पदमा जसपाका यादव विजयी

उपराष्ट्रपति पदमा नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पारी जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद साह विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनको सहयोग पाएका जसपाका साहले संघीप संसदका १८४ जना सांसद र प्रदेश सभाका ३२९ जना सदस्यको मत पाउनुभयो भने नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय संसदका १०४ र प्रदेश सभाका १६९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तैगरी जनमत पार्टीकी ममता झाले संघीय संसदका २३ र प्रदेशका १५ मत पाउँद जसपाकी प्रमिलाकुमारी यादवले प्रदेश सभा सदस्यको १ मत पाउनुभएको सो कार्यालयको भनाई छ ।

नवनिर्वाचित उपराष्ट्रपति साहलाई आजै साझ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विजयी प्रमाण-पत्र प्रदान गर्नुभयो ।

आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा संघीय संसदका ३११ र प्रदेश सभाका ५१८ जना सदस्यले मतदान गरेको जनाइएको छ । आजको मतदानमा राप्रपा र नेमकिपाका संघीय संसद र प्रदेश सभा सदस्य सहभागी भएनन् ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरिएक‍ो बताइएको छ ।

Leave a Reply