ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री

भारतीय मुलका ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री बन्नुभएको छ । सोमबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको दलको नेता चुनिएका सुनक आज बकिङ्घम दरबारमा संयुक्त अधिराज्यका राजा चाल्ससँगको भेटपछि बेलायतको प्रधानमन्त्री नियुक्त हुनुभएको सञ्चार माध्यमहरुले जनाएका छन् । भेटका क्रममा राजा चल्सले सुनकलाई मन्त्रीपरिषद गठनका लागि आग्रह गरेको बताइएको थियो । नवनियुक्त प्रधानमन्त्री सुनकले डाउन स्ट्रिटबाट देशका नाममा सम्बोधन गर्दै आफ्नो पूर्ववर्ती सरकारले गरेका गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

४२ वर्षीय सुनक बेलायतमा यो एक वर्ष भित्र प्रधानमन्त्री बन्ने कञ्जरभेटिभ पार्टीका तेश्रो नेता हुन् । यो एक वर्ष भित्र यस अघि प्रधानमन्त्री बनेका बोरिस जोन्सन र लिज ट्रस आफूले गरेका कार्यबाट जनता असन्तुष्ट बनेपछि प्रधानमन्त्री पदबाट बाहिरिनु भएको थियो ।

उदारवादी अर्थतन्त्र अगाडि बढाउने मार्गरेट थ्याचर र टेरिजा मे पछि बेलायतको इतिहासमा तेश्रो महिला प्रधानमन्त्री बनेकी लिज ट्रसले आफूले लिएको आर्थिक नीतिको विरोधको सामना गर्न नसकेपछि प्रधानमन्त्री बनेको ४४ दिनमा नै नापकीय ढंगबाट प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो , जसका कारण कञ्जरभेटिभ पार्टीको रिक्त दलको नेतामा सुनकलाई चयन गरिएको थियो । यस अगाडि सो दलको नेतामा सुनक ट्रससँग पराजित हुनुभएको थियो । डाक्टर पिता र फर्मासिटिकल्स माताका पुत्र सुनक बोरिस जोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री हुनुहन्थ्यो । ३५ वर्षको उमेर सांसद बनेका सुनक त्यसको ७ वर्षपछि बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । उहाँ राजा चाल्सबाट नियुक्त भएका पहिलो प्रधानमन्त्री हुनुहुन्छ ।

रुस र युक्रेन बीचको लडाई जस्ता कारणले प्रभावित बेलायतको अर्थतन्त्र र संयुक्त अधिराज्यका जनताले भोगिरहेको महङ्गी जस्ता समस्याको समाधान गर्न नवनियुक्त प्रधानमन्त्री सुनक कति सफल हुनु हुने हो त्यो त आगामी दिनमा देखिने नै छ । यस्तैगरी विश्व युद्ध हुने हो कि भन्ने खतरा बढिरहेको बेला विश्वमा शान्ति कायम गर्न उहाँको नेतृत्वमा वेलायत जस्तो शक्तिशालि देशकै कस्तो भूमिका हुने हो , त्यो पनि आउदा दिनमा देखिने नै छ ।

Leave a Reply