एकसाथ भक्तपुरका ४ वटै नगरमा प्रभातफेरी कार्यक्रम गरी सहकारी दिवस मनाइयो ।


२०८० चैत्र २० गते मंगलबार ६७ औं राष्ट्रिय सहकारी दिवस भक्तपुर जिल्लाका चार वटै नगरमा एकै समयमा नगर प्रमुखहरुकोअतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित मनाइएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नगर सहकारी समन्वय उप-समिति समेतको समन्वयमा मध्यपुर थिमि , सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको आयोजनामा प्रभातफेरी सम्पन्न भयो ।
यसैगरी भक्तपुर नगरपालिकामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नगर सहकारी समन्वय उप-समितिको आयोजना र भक्तपुर नगरपालिकाको समन्वयमा प्रभातफेरि कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताले सहकारीलाई अपनत्व ग्रहण गरी समाज र समुदायको विकासमा टेवा पु-याएको बताउनुभय‍ो । तर केही सहकारीमा आएको समस्याले सहकारी क्षेत्रलाई बदनाम गरेको उहाँको भनाई थियो । सहकारीमा भ्रष्टाचार विरोधी आन्दोलन शुरु गर्ने भक्तपुर जिल्ला रहेको बताउदैं उहाँले तुलनात्मक रुपमा भक्तपुरको सहकारी राम्रो भएपनि केही सहकारीमा समस्या रहेकोले निरन्तर अनुगमन गर्दै आएको बताउनुभयो । उदाहरणीय हुनको लागि शिक्षा, स्वास्थ्य, कला र सँस्कृति मात्र राम्रो भएर हुर्दैन- समग्र सबै क्षेत्र उदाहरणीय हुुन आवश्यक भएकोले सहकारी क्षेत्र पनि उदाहरणीय हुनुपर्ने उहाँको भनाइ थिय‍ो । उहाँले सहकारी समेतको सहयोगले भक्तपुरमा अक्सिजनप्लाण्ट स्थापना भएको स्मरण गर्दै भक्तपुर नगरपालिकाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराइरहेको दिनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले

वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको बताउदै यस बर्ष ६७औँ राष्ट्रिय सहकारी दिवससहकारीमा सुशासनः प्रविधि र एकीकरण“ भन्ने नाराका साथ मनाइएको बताउनुभयो । सहकारी सुशासनमा सञ्चालनको प्रत्यभुति तथा प्रतिबद्ध गराई सहकारी प्रविधिका आधारमा सञ्चालनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले स्वभाभिक एकीकरणलाई समर्थन गर्दै आएको तर फोर्स मर्जले सहकारीको मर्म मर्ने भएकोले उक्त पक्षमा हाम्रो य‍ो संघ नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव एवं नगर सहकारी समन्वय उप-समितिका संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियमन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न/गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नियमक निकायले सहकारीमा ठग्नेलाई नियम अनुसार कारवाही गरी सदस्यको बचत रकम सुरक्षित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । समाज विकासमा सहकारीले खेलेको भुमिकाको चर्चा गर्दै उहाँले हालको सहकारी समस्या समाधान गर्न नियमन निकाय गम्भीर भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । सो प्रभातफेरी कार्यक्रमको सञ्चालन सोही उप-समितिका सदस्य तथा लोकेश्वर साकोसका अध्यक्ष राजन जतिले गर्नु भएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा ७१ वटा सहकारी संस्थाहरुबाट २,००० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply