‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिस्ट समाजवाद’ नामक दुई पुस्तक सार्वजनिक

नेपाल कम्यु्निष्ट पार्टीका नेता तथा साहित्यकार एवं लेखक कृष्णहरि भट्टद्वारा लिखित कम्युनिस्ट जनवाद र लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित कम्युनिस्ट समाजवाद नामक दुई पुस्तक २०८२ श्रावण १८ गते आइतबार सार्वजनिक भएका छन् । काठमाडौंको अनामनगरस्थित संबाद डबलीमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल लगायतले यी दुई पुस्तकको एकसाथ सार्वजनिक गर्नुभयो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबिकरण आवश्यक भएको बताउनुभयो । महासचिव विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेकोसमेत ठोकुवा गर्नुभय‍ो । उहाँले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तक गहन अध्ययनका साथ आएको बताउँदै यी पुस्तक खास गरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नु पर्ने खाँचो औंल्याउनुभयो । महासचिव विप्लवले बर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै उहाँले बर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर उन्मुख भएको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेपाली कम्युनिष्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठनबिना क्रान्ति सम्भव नभएको बताउनुभयो । अध्यक्ष कट्टेलले “सार्वजनिकीकरण गरिएका दुई पुस्तकले, त्यसमा पनि कम्युनिस्ट जनवादले नेपाली क्रान्तिको आधार पक्रेको छ”, भन्नुभयो । उहाँले कम्युनिष्ट समाजवाद र कम्युनिष्ट जनवाद एक आपसका विरोधी विचार नभएको, कम्युनिष्ट क्रान्तिबाट नै कम्युनिष्ट समाजवादमा पुगिने मार्गचित्र स्पष्ट रहेको तथ्यमाथि जोड दिनुभयो ।

कार्यक्रममा कम्युनिस्ट जनवाद पुस्तकका लेखक कृष्णहरि भट्टले उत्पादन प्रणाली परिवर्तन बिना व्यवस्था परिवर्तन नहुने बताउनुभयो । उहाँले ,“नेपालमा आजसम्म भएको परिवर्तनले उत्पादन प्रणाली बदल्न नसक्नु र राजनीतिक सम्बन्ध मात्रै बदलिएकाले हरेक संघर्ष मात्रात्मक परिवर्तनमा गएर टुङ्गियो र गुणमा परिवर्तन गर्न सकेन, जसका कारण समाजमा दिशाहिनता र विकृति मौलायो”, भन्नुभयो ।

कार्यक्रम सञ्चालन गर्दै कम्युनिस्ट समाजवादका लेखक खेम थपलियाले आज आन्दोलन विभिन्न समाजवादी शिरामा विभाजित भएको सन्दर्भमा यो पुस्तकले सहिमर्गदर्शन गर्ने बताउनुभय‍ो ।

कार्यक्रमको अध्यक्षता गर्दै भूँडीपूराण प्रकाशनका प्रवन्ध निर्देशक केशवप्रसाद पराजुलीले पछिल्लो समयमा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पुस्तकहरु पढ्न छाडेको बताउनुभयो । उहाँले यी दुइवटा महत्वपूर्ण पुस्तक भने सबैले पढ्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा सार्वजनिक भएका दुबै पुस्तकका टिप्पणी गर्दै क्रान्तिकारी कम्यनिष्ट पार्टीका नेता एवं लेखक रामबहादुर बुढा र वाम कुद्भिजीवी कृष्ण वाग्ले ‘रुपेश’ले कम्युनिस्ट जनवाद र कम्युनिस्ट समाजवाद आपसमा विरोधी विचार नभएको तर पछिल्लो समयमा यी विचारहरुलाई एकआपसमा विरोधीको जस्तो ब्यवहार गरिएको बताउनुभयो । समाज विकास जहिले पनि श्रृङखलामा हुने बताउदै उहाँहरुले यी दुई पुस्तकले नेपाली कम्युनिष्ट आन्दोलनमा रहेका भ्रमहरुलाई सच्याउन र अगाडि बढ्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आरबी भण्डारी, पुष्पलाल विचार प्रवर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगाना र उपाध्यक्ष तथा साहित्यकार डा.भगवानचन्द्र ज्ञवाली, नेपाल कमयुनिष्ट पार्टीका नेता अनिल सी,अर्थशास्त्री प्रा.डा.केशबराज खड्का, इच्छुक संस्कृतिक प्रतिस्ठानका सदस्य सचिव मोदनाथ मरहट्ठा,बिघटित संविधानसभा सदसय सरला रेग्मी , सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *