कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत प्राप्त

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज कर्णाली प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । उहाँलाई नेकपा (माके)का १३, नेकपा (एमाले)का ९, नेकपा (एस)का १, राप्रपाका १ र स्वतन्त्र १ गरी कर्णाली प्रदेश सभाका २५ जना सदस्यले उहाँलाई विश्वासको मत दिएका छन् । ४० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १४ जना प्रदेश सभा सदस्यले भने उहाँको विपक्षमा मतदान गरे । मुख्यमन्त्री शर्माले नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वसको मत दिन आग्रह गरेपनि नेपाली कांग्रेसका कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले ‘सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षी बेञ्चमा बस्न समस्या हुनेर’छ, त्यसैले सरकारलाई विश्वसको मत दिन नसकिने’ विचार व्यक्त गर्नुभएको प्राप्त खबरमा उल्लेख छ ।

गत पुस २७ गते मुख्यमन्त्री बनेका नेकपा (माके)का नेता शर्मा साँढे दुई वर्ष कर्णाली प्रदेश सभाको मुख्यमन्त्री बन्ने नेकपा (माके) र नेकपा (एमाले) बीच सहमती भएको बताइएको थियो । अढाई बर्षपछि भने पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा (एमाले)का कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नुहुनेछ । नेता कँडेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको समयमा चेज एयर काण्ड घटेको थियो ।

कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख दुबै महिला

संघीय संसद तथा ७ वटा प्रदेश सभा मध्ये यस पटक कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख महिला उम्मेद्वार निर्वाचित हुनुभएका छन् । सो प्रदेश सभाको सभामुख नेकपा (एमाले)की नन्दा गुरुङ र उपसभामुख नेकपा (माके)की यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । अन्य ६ वटा प्रदेश सभाको सभामुख पुरुष र उपसभामुख महिला निर्वाचित भएका छन् । जस अनुसार १ नं. प्रदेश सभाको सभामुख नेकपा (माके)का बाबुराम गौतम र उपसभामुख नेकपा (एमाले)की सिर्जना दनुवार , मधेश प्रदेश सभाको सभामुख नेकपा (एमाले)का रामचन्द्र मण्डल र उपसभामुख जनमत पार्टीकी बबिताकुमारी राउत दुसर , बागमती प्रदेश सभाको सभामुख राप्रपाका भुवन पाठक र उपसभामुख नेकपा (एमाले)की अप्सरा चापागाई , गण्डकी प्रदेश सभाको सभामुख नेकपा (माके)का कृष्णप्रसाद धिताल र उपसभामुख विना थापा , लुम्बिनी प्रदेश सभाको सभामुख तुलाराम घर्ती मगर र राप्रपाकी मेनुका के.सी. खाण र सुदूरपश्चिम प्रदेश सभाको सभामुख नेकपा (माके)का भीम भण्डारी र उपसभामुख नेकपा (एमाले)की कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सभाको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई दिने सत्ता गठबन्धन बीच सहमती भएपनि नागरिक उन्मुक्ति पार्टीले नेता रेशमलाल चौधरीलाई रिहा नगरेसम्म राज्यका कुनै पनि राजकीय पदमा नजाने अडान लिएपछि पूर्व कमलरी समेत रहेकी नेकपा (एमाले)की चौधरी सो प्रदेश सभाको उपसभामुख बन्नुभएको जनाइएको छ ।

संघीय संसदको प्रतिनिधि सभाको ९औं सभामुख नेकपा (एमाले)का देवराज घिमिरे चयन हुनुभएको छ तर उपसभामुखमा भने भोलि नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव र रास्वपाकी इन्दिरा राना मगरमध्ये १ जना महिला निर्वाचित हुने निश्चित छ तर संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्ष नेकपा (एमाले)का गणेशप्रसाद तिमिल्सिना हुनुहुन्छ भने उपाध्यक्ष पद नेकपा (माके)की शशिकला दाहालको राष्ट्रिय सभा सदस्य पदको ४ वर्षे कार्यकाल गत वर्ष सकिएसँगै बिगत १ वर्षदेखि रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *