कश्मिरा साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको बागबजारमा रहेको कश्मिरा बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारण सभा शनिबार हार्दिक होटल ,बागबजारमा सम्पन्न भयो । सो साधारण सभाको राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो । उक्त अवसरमा अध्यक्ष उप्रेतीले सहकारीको विरोधमा गलत सूचना सम्प्रेषण हुँदा सहकारीमा समस्या देखिएको बताउदै हल्लाको पछि नलागी आफू सम्लग्न भएको सहकारी संस्थामा निर्धक्क भएर कारोवार गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले पनि बैंक तथा अन्य वित्तीय संस्थाहरुले झैं आफ्ना शेयर सदस्यहरुका लागि सेवा र सुविधाको योजना अगाडि सार्दा राम्रो हुने बताउदै राम्रो सँग सञ्चालन हुने सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.को साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थापना भएको छोटो समयमा नै राम्रो प्रगति गर्न सफल यस कश्मिरा साकोसको प्रतिवेदनमा उल्लेख भएका सबै सूचकाङ्क राम्रो रहेकाले शेयर सदस्यहरुले यस संस्थामा ढुक्क भएर आर्थिक कारोवार गर्न आग्रह गर्नुभयो ।

सोही संस्थाका अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभामा भूतपूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा (एमाले)का सचिव योगेश भट्टराई , पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

उक्त साधारण सभामा त्यसै संस्थाका अध्यक्ष पाण्डेले सो संस्थाको सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिको सक्रियता , शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले छरिएर रहेको स-सानो पूँजीलाई संकलन गरी त्यसलाई परिचालन गरी आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले यो संस्थाको स्थापना भएको बताउदै यस संस्थाले आफ्नो उद्देश्य अनुरुपको कार्य गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको बताउनुभयो । संस्थालाई अफ्ठ्यारो परेको बेलामा सहयोग गर्ने मात्रै संस्थाका बास्तविक सदस्य हुने उहाँको भनाई छ ।

त्यसै संस्थाका सचिव जयराम तिमिल्सिनाले सञ्चालन र सञ्चालक सुदर्शन अर्यालले स्वागत मन्तव्य व्यक्त गरेको त्यस सभामा सो संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक डिल्लीराज धितालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै हाम्रो यस संस्थामा तरलता र वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो । ती प्रतिवेदन शेयर सदस्यहरुले छलफल गरी साधारण सभाबाट पारित गरेका थिए । पारित भएका ती प्रतिवेदनमा शेयर पूँजी रु.२ करोड ५१ लाख , निक्षेप संकलन रु.२४ करोड ४८ लाख , कर्जा लगानी रु.३६ करोड १४ लाख , कुल सम्पति रु.३८ करोड ५६ लाख र खुद मुनाफा रु.२४ लाख ४७ हजार रहेको उल्लेख छ । यसैगरी शेयर सदस्यता विस्तार , शेयर सदस्यहरुलाई बचत गर्न प्रोत्साहन गर्ने, शेयर पूँजी र कारोवार बृद्धि , कर्जालाई विविधीकरण गर्ने , शेयर सदस्यहरुका छोराछोरीहरुलाई शिक्षा आर्जनमा सहयोग पु-याउने लगायतका चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र कार्यक्रमहरु ती प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभामा सोही संस्थाको विभिन्न विधाका उत्कृष्ठ छनौट भएकाहरुलाई सम्मानित गरियो ।

Leave a Reply