कोशी प्रदेश सभाका नवनिर्वाचित सभामुख विष्टद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

कोशी प्रदेश सभाले आज सर्वसम्मत निर्वाचित गरेका सोही सभाका सभामुख अमरबहादुर विष्टले आजै साँँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा क‍ोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश सभाकी उप-सभामुख सिर्जना दनुवार लगायतको उपस्थिति रहेको थियो । पद तथा ग‍ोपनियताको सपथ ग्रहण गरे लगत्तै नवनिर्वाचित सभामुख विष्टले पदभार ग्रहण गर्नुभयो । गत श्रावणमा तत्कालीन कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएपछि उक्त प्रदेश सभाको सभामुख पद रिक्त थियो । आजबाट कोशी प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको हो ।

प्रदीप भण्डारी र बाबुराम गौतमपछि कोशी प्रदेश सभाको सभामुख बनेका विष्ट राप्रपाको समानुपातिक तर्फबाट कोशी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । झापाको गल्डुब्बा निवासी विष्टले राजनीतिसँगै सामाजिक कार्य गर्दै आउनुभएको छ । राप्रपालाई कोशी प्रदेश सभाको सभामुख दिन सत्ता गठबन्धनका दलहरु सहमत भएपछि कोशी प्रदेश सभामा ६ जना प्रदेश सदस्य रहेको राप्रपाले विष्टलाई सभामुखको उम्मेद्वार बनाएको हो । विष्टसँगै राप्रपाका भुवन पाठक बागमती प्रदेश सभाको सभामुख र मेनुका खाण के.सी. लुम्बिनी प्रदेश सभाको उप-सभामुख हुनुहुन्छ ।

कोशी प्रदेश सभाका नवनिर्वाचित सभामुख विष्टले सबैलाई को-अर्डिनेशन गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply