क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत पौड्याललाई नेपाल हस्तकला महासंघले ग-यो स्वागत

नेपाल सरकारबाट क्यानाडाका लागि नवनियुक्त राजदूत भरतराज पौड्यालको सम्मानमा आज नेपाल हस्तकला महासंघले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरि राजदूत पौड्याललाई समस्त हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघको तर्फबाट स्वागत गर्दै बधाई ज्ञापन गरियो । उक्त सम्मान कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले महामहिमको कार्यकालमा विश्वविख्यात नेपाली मौलिक कलाको रुपमा रहेको हस्तकला, नेपाली संस्कृति र सम्पदाको प्रचार प्रसार एवं प्रवर्द्धन गर्न क्यानडाको नेपाली राजदुतावास हस्तकलामुखी बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा छलफलमा उठेका विषयहरु माथि नवनियुक्त राजदूत पौड्यालले व्यवसायीहरुले भोगिरहेको समस्याहरुको सम्बोधन गर्न राजदुतावासबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभय‍ो । राजदूत पौड्यालले व्यवसायीहरुले भोगिरहेका समस्याहरुलाई नेपाल सरकारबाट नीतिगत रुपमा नै समाधान गर्न सके निर्यातकर्ता व्यवसायीहरुलाई क्यानडा मात्र नभई अन्य देशहरुमा पनि निकासी प्रवर्द्धन गर्न सहज हुने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली हस्तकलालाई अन्तरराष्ट्रिय जगतमा प्रवर्द्धन गर्न हस्तकला बस्तुहरुको आकर्षक तथा गुणस्तरीय प्याकेजिङ्ग, लेबलिङ्ग तथा प्रवर्द्धनात्मक श्रव्य दृश्य सामाग्रीहरुले धेरै मद्दत पु-याउने हुँदा नेपाल हस्तकला महासंघले यस बारेमा आवश्यक कार्य गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले क्यानडाको लागि नेपाली राजदुतावास सदैव नेपाल हस्तकला महासंघसँग जोडिदै हस्तकला उद्योग व्यवसायको प्रवर्द्धन गर्न प्रयासरत रहने प्रतिबद्धता जाहेर गुर्न भएको थियो ।

Leave a Reply