ख्वप साकोसको वार्षिक कार्य योजना निर्माण कार्य सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक कार्य योजना निर्माण तथा अभिमुखीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा ब्यासीमा २०८० माघ २६ गते शुक्रबार सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि सुरेन्द्रराज गोसाईले ‘सहकारी संस्थाले शेयर सदस्यहरुलाई नेपाली भाषा शुद्ध बोल्न र लेख्न सिकाउनुपर्छ, भाषिक शुद्धता नभएपछि आर्थिक रुपमा तल्लो भएको भन्दा तल्लो पर्न जान्छ । शेयर सदस्यहरुमा थप शैक्षिक जागरण ल्याउन अन्तर्क्रिया गोष्ठीको आयोजना गर्नुपर्छ । संस्था स्थापना भएको १५ वर्षको अनुभव र उपलब्धिबाटबाट शिक्षा लिई पञ्च वर्षीय योजना बनाए थोरै समयमा धेरै विकास हुन्छ । पानी र माछा सँगै गए झै सामाजिक कार्यमा सहकारी र समाज सँगै जानुपर्छ’, भन्नुभयो । यसैगरी कार्यक्रममा मनतव्य व्यक्त गर्दै भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले ‘भक्तपुर नगरपालिकाले आर्थिक योजना बनाई अघि बढिरहेको छ । लघु उद्योग सञ्चालनमा जोड दिइरहेको छ । युवा उद्यमशिलताको लागि रु. ५ लाखसम्म ऋण प्रदान गर्ने छ र हस्तकला उद्योग सञ्चालन गर्न गइरहेको छ’, भन्नुभयो । कार्यक्रममा नेमकिपा व्यासी ईकाइका अध्यक्ष गणेशप्रसाद सुवालले ५०औं पार्टी स्थापना दिवसको शुभकामना ब्यक्त गर्दै ‘नेतृत्वले संस्थालाई अगाडि बढाउन लगनशील भई मेहनत गर्न आवश्यक छ’, भन्नुभयो ।
कार्यक्रममा संस्थाको कार्य य‍ोजना प्रस्तुत गर्दै ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले

वार्षिक बजेट अनुसार संस्थाका समिति र उप-समितिहरुलाई वार्षिक कार्य योजना प्रस्तुत गर्न अनुरोध गर्दै स्वास्थ्य बचत र पेन्सन बचत गर्नपर्ने र संस्थाको सदस्यता बृद्धिका लागि समिति, उप-समिति र सदस्यहरुले पहल गर्नुपर्ने र आ.व. २०८०/०८१ म संस्थाको सदस्य संख्या २,००० जना पु-याउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा त्यसै संस्थाका सल्लाहकार कुमार लघु र लेखा सुपरीवेक्षण समिति सदस्य कृष्णराम सुलुले वार्षिक कार्य योजना निर्माणले संस्थाको गतिविधिका लागि क्यालेण्डर निर्माण भई कार्य गर्न सजिलो हुन्छ भन्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सो संस्थाका सचिव अमर बासुकलाले ‘ ख्वप बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक गतिविधिका साथै सामाजिक कार्यमा पनि जोड दिइरहेको छ’, भन्नुभयो । कार्यक्रममा उक्त संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले संस्थाको आर्थिक स्थितिबारे जानकारी दिंदै यस संस्थामा तरलता ३२ प्रतिशत रहेकोले सदस्यहरुलाई ढुक्क भई कारोबार गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रशिक्षक तुल्सीहरि प्रजापतिले सहकारीको विकासमा नेतृत्वको भूमिका र योगदान विषयक प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा वार्षिक कार्ययोजना निर्माणका लागि समूह समूह बनाई छलफल गराइएको थियो । छलफल पछि शिक्षा उप-समितिबाट कृष्णगोपाल आचार्य, महिला उप-समितिबाट सुलोचना सुवाल, स्वास्थ्य उप-समितिबाट सुन्दर ब्याञ्जु , अतिरिक्त क्रियाकलाप उप-समितिबाट साजन लघु, लेखा सुपरीवेक्षण समितिबाट लक्ष्मीदास बासुकला, ऋण उप-समितिबाट अमर बासुकला ,बचत उप-समितिबाट राजेश ब्याञ्जु ,ऋण अनुगमन उप-समितिबाट नारायण याकामी र कृषि उप-समितिबाट कृष्णप्रसाद आचार्यले आ-आफ्नो समितिको वार्षिक कार्य योजना प्रस्तुत गर्नुभयो ।

Leave a Reply