गृह मन्त्रालयले बिगत केही दिनयता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार तथा क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । सो मन्त्रालयका सहसचिव छवि रिजालले हस्ताक्षर गरि जारी गर्नु भएको प्रेस विज्ञप्तिमा यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहिन समाचार प्रकाशित तथा प्रसारित भएको प्रति मन्त्रनलय दु:ख व्यक्त गर्दछ भन्दै यस्ता कुनै पनि गैरकानूनी तथा भ्रष्टाचारजन्य क्रियाकलापमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको सम्लग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं भनिएको छ । सो घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा उक्त विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्री रमेश लेखकले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा घटेको घटनासँग आफ्नो कुनै सम्लग्नता नरहेको बताएका छन् । आज सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा आफू आएदेखि गलत कार्य भएको रहेछ भने आफू राजनीतिमा देखा पर्दिन भने ।
यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी त्यहाँका कार्यालय प्रमुख तीर्थ भट्टराईलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तान्नुकासाथै सो कार्यालयका ८ जना नायब सुब्बालाई शुक्रबार त्यहाँबाट अन्यत्र सरुवा गरिएको छ । त्यहाँबाट भिजिट भिसामा जानेहरुबाट रु.५ लाखदेखि करोडसम्म लेनदेन हुने गरेको समाचार सार्वजनिक भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यमा गृह मन्त्री लेखक समेतको सम्लग्नताको समाचार सार्वजनिक भएसँगै गृह मन्त्री लेखकले गृह मन्त्री पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्ने नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आज विराटनगरमा बताएका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्री लेखकको राजीनामा माग गरेको छ । यसैगरी वरिष्ठ पत्रकार युवराज घिमिरे लगायतले पनि गृह मन्त्री लेखकले राजीनामा दिएर आफूमाथि लागेको आरोपमाथिको छानविनमा सहयोग गर्न माग गरेका छन् । यदी गृह मन्त्री लेखकले राजीनामा नदिए प्रधानमन्त्रीले उनलाई गृहमन्त्रीबाट हटाउनु पर्ने घिमिरेको सामाजिक सञ्जालमा थप भनाई प्रकाशित छ ।





