चितवनमा महिला नेतृत्व कृषि सम्मेलन सुरु, ‘सरकारको प्राथमिकतामा कृषि छ’ : मन्त्री साह

नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम (CNIWLF)को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन-२०२४ आजबाट शुरु भएको छ ।
चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपञ्छी विकास मन्त्री ज्वालाकुमारी साहले

उद्घाटन गर्नहुँदै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । कृषि क्षेत्रको विकास, कृषि पेशाको सम्मान एवं कृषकलाई प्रोत्साहन गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री साहले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण गरिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि नीतिगत रुपमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले

उच्च परिमाणमा कृषि उपज आयात भइरहेको भन्नुहुँदै कृषिको आधुनिकीकरण गर्दै बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “कृषि वस्तुहरुमा समेत हाम्रो परनिर्भरता बढेको छ । परनिर्भरता घटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक छ । आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अबलम्बन गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन र खपत बढाउन आवश्यक छ”, भन्नुभयो । उहाँले कृषि पेशालाई सम्मान गर्न, कृषकलाई प्रोत्साहित गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति अबलम्बन गर्न आग्रह गर्नुभयो । उहाँले आगामी बजेट स्वदेशी उद्योगहरुको प्रबर्द्धन गर्ने रणनीतिमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिनुहुँदै कृषकले दुःख गरेर उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपाल उद्योग परिसंघ महिला नेतृत्व फोरम सभापति छायाँ शर्माले सम्मेलनमा महिलामूखी कृषि यान्त्रिकरण, नेपाको माटो सुहाउँदा कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताउनुभयो । कृषिको महत्व बुझाउन र दीगो भएर लाग्न यो सम्मेलनले उत्प्रेरित गर्ने विश्वास लिइएको शर्माको भनाइ छ । “अहिले कृषि सरकारको प्राथमिकतामा नपरेको र कृषकलाई पनि हिनताबोध हुने क्षेत्र परेको छ । कृषकलाई प्रोत्साहन गर्न यो सम्मेलन गरेका हौं”, उहाँले भन्नुभयो ।
यस्तै चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले चितवनको पर्यटन र कृषि उद्यमशीलतामा संघले काम गरिरहेको बताउनुभयो । ठुलो मात्रामा कृषकको संख्या चितवनमा रहेको र भरतपुर पर्यटन बर्ष पनि भएकाले यो कृषि सम्मेलन महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले कृषि पेशा घाटाको पेशा रहेको चर्चा गर्दै विश्वको कृषि उत्पादनको औषत उत्पादन पनि नेपालले नभेटेको बताउनुभयो । नीति निर्माणमा संलग्नहरुले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिए नेपालको कृषिले राम्रो फड्को मार्ने उहाँले बताउनुभयो ।
सम्मेलनको प्रमुख वक्ता डा. शोभा पौडेललले कृषिलाई लक्षित गरेर गरिएको यो पहिलो सम्मेलन भएको बताउँदै यसरी कृषिलाई नै केन्द्रित गरी कमै कार्यक्रम हुने गरेको बताउनुभयो । कृषि पेशामा महिलाको संलग्नता धेरै भएपनि प्रोत्साहन नगरिएको उहाँको भनाइ थियो ।
सम्मेलनको मुख्य नारा कृषिको रूपान्तरणकारी भविष्य : कृषिमा आधारित व्यवसायमा नवप्रवर्द्धन, दीगोपन र उद्यमशीलताको प्रवर्द्धन रहेको छ ।

भोलिसम्म चल्ने यो सम्मेलनमा उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषयमा छलफल हुने छ भने कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझाव पेश गर्ने आयोजकको भनाइ छ ।

यो सम्मेलनमा कृषि प्रदर्शनी समेत गरिएको छ ।

Leave a Reply