जसपा,नेपालको २, रास्वपा र नेकपा(एस)को १/१ वडामा जीत, रामगोपालपुरमा एमालेका खाँ विजयी

हिजो सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपालले २, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एस)ले १/१ वडामा जित निकाले भने नेकपा (एमाले)का सकिवुल खाँले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं.२ को वडाध्यक्षमा बाजी मार्न सफल भए । यस अघि नेकपा (माके)ले जितेको यो वडामा उनले ६३१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (माके)का आइतीकुमारी यादवले ५३४ र नेपाली कांग्रेसका म‍ोहम्मद जनिफ खाँले २८४ मत पाए । विजयी खाँ यस अघिको चुनावमा जसपा, नेपालबाट उम्मेद्वार बनेर ३४२ मत पाएपनि तेश्रो भएका थिए भने यो पटक पनि त्यहाँ उम्मेद्वार बनेका नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले यो पटकक‍ो उपनिर्वाचनमा यस अघिको निर्वाचनमा पाएको भन्दा ९१ मत कम पाए ।

यता यस अघि नेपाली कांग्रेसले जितेको सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा १ र ४ मा जनता समाजवादी पार्टी ,नेपाल विजयी भएको छ । उक्त गाउँपालिकाको वडा नं.१ को वडाध्यक्षमा जनता समाववादी पार्टी,नेपालका धीरेन्द्रकुमार साह ६५२ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी भुलियादेवी थरुनीले ५८७ र नेकपा (एमाले)मा भगवानी साहले २५६ मत पाए । यसैगरी सोही गाउँपालिकाको वडा नं.४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी ,नेपालका देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ज‍ोगिन्द्रराय अमातले २७७, जनमत पार्टीका उदयनारायण पण्डितले २३१ र नेकपा (एमाले)का सञ्जयकुमार यादवले ६८ मत पाए ।

त्यस्तै यस अघि नेपाली कांग्रेसले २०७४ र २०७९ को निर्वाचनमा जितेको काठमाडौं महानगरपालिका वडा नं.१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठले ६८२ मतान्तरले बाजी मारिन् । उनले २,९०२ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरले २,२२० , नेपाली कांग्रेसका देवेन्द्र पाठकले २,२१४ र नेकपा (एस)का मीनबहादुर मानन्धरले १,०९२ मत पाए ।

उता रौतहटको गडीमाई नगरपालिका वडा नं.८ को वडाध्यक्षमा नेकपा (एस)का बजरंगी प्रसाद यादव ६५५ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का जीउती देवी यादवले ६३१ , नेपाली कांग्रेसका सुबोदकुमार यादवले ६१७, जनता समाजवादी पार्टी, नेपालका सन्देशप्रसाद यादवले २५८ र राष्ट्रिय मातृभूमि पार्टी पार्टीका साहेवलाल राउतले ४० मत पाएको बताइएको छ ।

यस बाहेक रास्वपा, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एस)को अन्यत्र भने सम्झनलायक उपस्थिति देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *