भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना, सूर्यविनायक नगरपालिकाको समन्वय र सिद्धि स्मृति अस्पताल भीमसेनस्थान भक्तपुरको प्राविधिक सहयोगमा गाम्चा स्वास्थ्य चौकीमा महिलाहरुको पाठेधरको मुख क्यान्सर परीक्षण कार्य मंगलबार सम्पन्न भयो । विगतका वर्षहरुमा झै यस वर्ष पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हाम्रो यस संस्थाले महिलाहरुको पाठेघरको मुख क्यान्सर परीक्षण गर्ने कार्यक्रम आयोजना गरेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक दीपा श्रेष्ठ क्षेत्रीले बताउनुभयो । सो अवसरमा महिलाहरुको उत्साहजनक उपस्थिति रहेको आयोजकको भनाई छ । उक्त परीक्षण कार्य सफल पार्न योगदान र सहयोग गर्ने सबैलाई दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष निर्जला ढुंगेल दाहालले धन्यबाद ज्ञापन गरी समयमै पत्ता लागेमा क्यान्सर रोग पनि उपचारबाट निको हुन सक्ने बताउनुभयो ।
यस अघि यो संस्थाले रेडक्रस दिवसको अवसरमा २०८२ जेठ ३१ गते सुशिला भैरव मन्दिर कटुञ्जे भक्तपुरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रममा २४ जना रक्तदाताले रक्तदान गरेका थिए । आयोजकले धन्यबाद सहित रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
समुदायमा आधारित रही सञ्चालन हुँदै आएको यो संस्थाले आफ्ना शेयर सदस्यहरु बीच बचत तथा ऋण कारोबारसँगै समय समयमा शेयर सदस्यहरुको सहभागितामा रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने गरेको छ ।





