धरानलाई सफा बनाउने अभियानमा नवनिर्वाचित मेयर हर्क साम्पाङ

धरान / धरान उप-महानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ राईले धरानलाई स्वच्छ र सफा बनाउने कार्य शुरु गर्नु भएको छ ‌‌। यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान उप-महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बनेका साम्पाङ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राई र नेकपा (एमाले)की मञ्जु भण्ढारीलाई फराकिलो मतान्तरले पराजित गरी विजयी हुनुभएको छ । धरानको खानेपानी समस्या समाधान गर्ने कार्यलाई पनि मेयर साम्पाङ ले प्राथमिकताका साथ अगाडि बढाउनुभएको छ ‌‌। यसलाई धरानका मतदाताले सकारात्मक रुपमा लिएको देखिएको छ ।

उक्त नगरपालिकाको उप-मेयरमा भने गठबन्धनको तर्फबाट नेकपा (माके)का आइन्द्रविक्रम बेघा विजयी हुनु भएको छ ।

धरान उप-महानगरपालिकामा मेयर र उप-मेयर दुबै पदमा पुरुष उम्मेद्वारी विजयी हुनुभएको छ भने सुनसरी जिल्लाका बाँकी सबै पालिकाको उप-प्रमुख/उपाध्यक्षमा महिला उम्मेद्वार विजयी हुनुभएको छ । १२ वटा पालिका रहेको सुनसरीको कुनै पालिकाको प्रमुख/अध्यक्षमा महिला उम्मेद्वारले जितेका छैनन् ।

१२ वटा पालिका रहेको सुनसरी जिल्लाको ७ पालिकाको प्रमुख/अध्यक्षमा नेपाली कांग्रेस, ३ पालिकाको प्रमुख/अध्यक्ष नेकपा (एमाले) , एक पालिकाको प्रमुख स्वतन्त्र र १ पालिकाको अध्यक्षमा जसपा विजयी भएको छ ‌‌‌भने ६ पालिकाको उप-प्रमुख/उपाध्यक्षमा नेपाली कांग्रेस, ५ पालिकाको उप-प्रमुख/उपाध्यक्ष नेकपा (एमाले) र १ पालिकाको उप-प्रमुखमा नेकपा (माके) विजयी भएको छ ।

(कान्तिपुर दैनिकको सहयोगमा)

Leave a Reply