नेपाल कम्युनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन बुधबारबाट शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७३औं वर्ष प्रवेशको अवसरमा भर्चुअल (ZOOM) माध्यमबाट उक्त पार्टीद्वारा आयोजित कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको बारेमा चर्चा गर्नु हुदै ‘हाम्रो यो नेपाल कम्युनिष्ट पार्टी कमरेड पुष्पलालको अगुवाईमा स्थापना भएर अगाडि बढेको नेपाल कम्युनिष्ट पार्टी कै निरन्तरताको रुपमा रहेको छ’, भन्नुभयो । उहाँले नेपालमा कम्युनिष्टहरुको पक्षमा अत्यधिक जनमत छ तर क्रान्तिकारी कम्युनिष्टहरुको अवस्था भने कमजोर रहेकोले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठीक ढंगबाट अगाडि बढाउन नेपाल कम्युनिष्ट पार्टी दरिलो बनाउनु पर्ने खाँचो औंल्याउनुभयो ‌‌। कार्यक्रम सञ्चालन गर्दै सोही पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले नक्कली कम्युनिष्ट पार्टीहरुले छरेका भ्रम छर्ने चिर्ने काम नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा सो पार्टीका केन्द्रीय सचिवालय सदस्य आर.बी. भण्डारी , शरण बिक्रम मल्ल , रत्नप्रसाद जोशी , भीम सेढाई , राजेश बान्तवा , कृष्णहरि भट्ट , राम दुलार महतो , सीता सुवेदी , डा. महेन्द्र जोशी केन्द्रीय सदस्यहरु भूमि ढुंगाना , अर्जुन कार्की , राजकुमार थापा , शारदा श्रेष्ठ , सतिलाल चौधरी , रचना शर्मा लगायतले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

त्यस राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका ५ वटा दस्तावेज छलफलका लागि प्रस्तुत गरिएको बताइएको छ । सो पार्टीका प्रदेश समितिहरुले २०७८ कार्तिक १० गतेभित्र तीन दस्तावेज उपर नेता-कार्यकर्ताहरु छलफल गराएर सुझाव संकलन गरी २०७८ मंसीर १० गतेभित्र केन्द्रीय कार्यालयमा पठाई सक्नु पर्ने र ती सुझावहरु समावेश गरी दस्तावेज तयारी समितिले २०७८ मंसीर २० गतेभित्र अन्तिम रुप दिने र २०७८ मंसीर ३० गते जनकपुरमा उक्त सम्मेलनको समापन गर्ने कार्यतालिका रहेको जनाइएको छ । नेता कार्यकर्ताहरु एकै ठाउँमा भेला भएर सम्मेलन गर्दा कोभिड-१८ को संक्रमण हुने जोखिम रहेको कारणले गर्दा भर्चुअल बिधिबाट यो राष्ट्रिय सम्मेलन गर्नु पर्ने अवस्था आएको सोही पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीको भनाइ छ ।

सो पार्टीले भने सेप्टेम्बर ३० तारेक (भदौ ३० गते) नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउदै आएको छ ‌

Leave a Reply