नेफस्कूनको ३१औं वार्षिक साधारण सभा सम्पन्न , सहकारी नीति , २०७९ स्वीकृतिको चरणमा छ : मन्त्री श्रेष्ठ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो साधारण सभाको भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उक्त अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मन्त्री श्रेष्ठले सहकारी नीति ,२०७९ स्वीकृतिको चरणमा रहेको र सहकारी प्रवर्द्धन कोषको काम मन्त्रालय मातहत अगाडि बढिसकेको बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष कार्यान्वयनमा आएकोले यसले बचत तथा ऋण सहकारी संस्थामा कोशेढुंगाको काम गर्न सक्ने विश्वास व्यक्त गर्दै नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभाले बचत तथा ऋण सहकारी अभियानमा सुशासन कायम गर्न केन्द्रित रहेर समग्र गुणस्तर सुधारको कामलाई सघन रुपमा अगाडि बढाउन पहल गर्न सकोस् भनी कामना गर्नुभयो ।

उक्त साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी मार्फत समुदायको चाहनालाई उजागर गरी सामाजिक जीवन र सामाजिक दायित्व दिगो बनाउनु पर्ने खाँचो औंल्याउदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्न राष्ट्रिय अर्थतन्त्र विकासको प्रमुख एक खम्बाको रुपमा रहेको सहकारीको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

सो साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले स्थिरीकरण कोष बलियो भयो भने साकोस अभियान बलियो हुने भएकोले यसमा साकोसहरुको योगदान बृद्धि हुनुपर्ने आवश्यकता औंल्याउदै केन्द्रदेखि तलसम्म सहकारी अभियानको शुद्धिकरण तथा सहकारी ऐन र नियमावलीमा भएका व्यवस्था कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका अध्यक्ष मिनराज कँडेलले साकोस अभियानमा शुरु भएको स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषले भोलिका दिनमा साकोस अभियानलाई सुदृढ र सुरक्षित बनाउन मद्दत पुग्ने भएकोले यस संघमा आवद्ध सदस्यहरुलाई यो स्तरीकरण कार्यक्रममा जोडिन र स्थिरीकरण कोषमा योगदान गर्न आग्रह गर्नुभयो ।

यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नि:बर्तमान अध्यक्ष केशवप्रसाद बडालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र सुशासन कायम गर्न नीतिगत र कानुनी उल्झनले अवरोध पु-याएको भन्दै सहकारीको विकास र प्रवर्द्धनमा बाधक ४७ वटा ऐन संशोधन गर्नु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले सरकारले सहकारीलाई उत्पादनमा केन्द्रित गर्ने भन्ने तर उसले सहकारी उत्पादनमा जानलाई उत्पादनमुखी नीति आवश्यक हुन्छ भन्ने नबुझ्ने गरेको बताउनुभयो ।

साधारण सभामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनको रणनीतिक मार्गचित्र प्रस्तुत गर्दै यसले अग्रजहरुको परिकल्पनालाई साकार पार्न तथा सदस्य , संस्था र अभियानलाई एक शुत्रमा बाध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका कार्यकारी उपाध्यक्ष खगेन्द्र अधिकारीले सहकारी अभियान र सीटीईभीटी दुबैको साझा लक्ष्य आर्थिक समृद्धि र समाज रुपान्तरण रहेकोले ‌‌सहकारी अभियान र सीटीईभीटी दुबैको पहलमा सीप हस्तान्तरणलाई व्यापक बनाई स्वदेशमै रोजगारी अवसर सिर्जना गरी आर्थिक आत्मनिर्भर निर्माण गर्ने दिशा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

साधारण सभामा स्वगत मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले ‘सहकारी कर्जा सुचना केन्द्र र कर्जा असुली न्यायधीकरणको नीतिगत रुपमा कार्यविधि बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउदै स्थिरीकरण कोष दिगो रुपमा सञ्चालन गर्न मन्त्रलयले सहजीकरण गरोस्’, भन्नुभयो ।

साधारण सभामा धन्यबाद ज्ञापन गरी नेफ्स्कूनकी उपाध्यक्ष शान्ति आधिकारीले त्यस सभाको उद्घाटन सत्र समापन भएको घोषणा गर्नुभयो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको साधारण सभाको बन्दसत्रमा नेफस्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुत गर्नुभएको नेफ्स्कूनको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम , कोषाध्यक्ष दीपक पनेरूले पस्तुत गर्नुभएको नेफस्कूनको आर्थिक वर्ष २०७८/०८९ को आय व्यय विवरण तथा आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित आय व्यय विवरण र लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटाले प्रस्तुत गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन माथि प्रतिनिधिहरुले छलफल गरी पारित गरियो ।

साधारण सभाले ५ बुँदे संकल्प प्रस्ताव पारित गरेको बताइएको छ ।

Leave a Reply