बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को चुनाव सहितको ३२औँ वार्षिक साधारण सभा यही पुष ७ र ८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदैछ । सो सााधारण सभाको मिति नजिकिएसँगै नेफ्स्कूनको भावी सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयनका लागि हुने चुनावको सरगर्मी बढ्दै गएको छ । यो संघको भावी अध्यक्षमा बर्तमान अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आकाङ्क्षी देखिनुभएको छ । सहमतीमा नेफ्स्कूनको नयाँ नेतृत्व चयन हुन नसकेमा पौड्याल र ढकाल बीच अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । यतिबेला दुबै पक्षले आफ्नो पक्षमा माहोल बनाउन कसरत गरिरहेका छन् , जस अनुसार दुबै पक्ष आफ्नो पक्षमा पल्लाभारी बनाउन नेफ्स्कूनको सदस्य संघ/संस्थाको नवीकरण गराउने र आफ्नो पक्षमा उभिने प्रतिनिधि छनौटको लागि प्रयत्न गरिरहेको देखिएको छ । यही कारण नेफ्स्कूनको सदस्यता नवीकरण गर्न आनाकानी गर्दै आएका कतिपय साकोसले पनि नेफ्स्कूनको सदस्यता नवीकरण गरेको जानकारहरु बताउछन् ।
नेफ्स्कूनका भावी अध्यक्षको पुन: आकाङक्षी परितोष पौड्याल नेकपा (एमाले) र नेफ्स्कूनको अध्यक्षका आकाङ्क्षी चन्द्र ढकाल नेपाली कांग्रेसका नेता हुन् । परितोष पौड्याल नेफ्स्कूनको बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन् भने चन्द्र ढकाल नेफ्स्कूनको महासचिव हुँदै बरिष्ठ उपाध्यक्ष भएका थिए । पौड्याल र ढकाल दुबैले बचत तथा ऋण सहकारी अभियानलाई थप मजबूत र मर्यादित बनाएर बचत तथा ऋण कारोबार गरेका कथिपय सहकारी संस्थमा देखिएको समाधानका लागि आफू अध्यक्ष बन्नु आवश्यक रहेको बताएका छन् ।
नेफ्स्कूनको अध्यक्ष पदमा मात्रै होइन अन्य पदाधिकारीदेखि सञ्चालक तथा लेखा सुपरीबेक्षण समित संयोजक र सदस्य पदका लागि पनि नयाँनयाँ आकाङ्क्षी देेखिएका छन् । जसले गर्दा बचत तथा ऋण सहकारी अभियानभित्र नेफ्स्कूनको चुनावी साधारण सभाको रौनक बढ्दै गएको छ ।
यता नेफ्स्कूनको नयाँ सञ्चालक समिति र लेखा सुपरीबेक्षण समिति सर्वसम्मतीका साथ चयन हुनुपर्ने आवाज सहकारी अभियान भित्र जोडतोडका साथ उठिरहेको छ । धेरै सहकारीकर्मीहरु सहमतीका साथ नेफ्स्कूनको नयाँ सञ्चालक समिति र लेदा सुपरीवेक्षण समिति चयन हुनु पर्ने पक्षमा देखिएका छन् । कास्कूनका व्यवस्थापक अरुण तिवारी नेफ्स्कूनको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको चयन सहमतीका साथ हुन सकेमा बचत तथा ऋण सहकारी अभियान थप मजबूत हुन सक्ने बताउनुहुन्छ ।
यता कतिपय सहकारी अभियान्ताहरुले नेफ्स्कून तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध चयनका लागि पहल भइरहेको बताएका छन् ।
अहिलेको सहकारी अभियानको आवश्यकता भनेको राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल, नेफ्स्कून तथा अन्य सबै सहकारी संघको सञ्चालक समिति र लेखा सुपरीबेक्षण समिति सहमतीमा चयन गरी सहकारी अभियानलाई एकताबद्ध बनाएर सहकारी भित्र देखिएका समस्या समाधान गर्दै सहकारी अभियानको विकास र प्रवर्द्धनमा लाग्नु पर्ने सरोकारवालाहरुको भनाइ छ





