राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य र युवा परिषदका सदस्य समेत रहेका नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटाले नेफस्कूनको नयाँ सञ्चालक समितिको महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । अलगपथसँग संक्षिप्त कुरा गर्दै उहाँले बचत तथा ऋण कारोबार गर्ने कतिपय सहकारी संस्थाहरुमा देखिएका समस्या समाधान गर्दै बचत तथा ऋण सहकारी संघ/संस्थाहरुलाई मर्यादित र व्यवस्थित गर्दै सहकारीको थप विकास र प्रवर्द्धनका लाग आफूले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को महासचिव पदमा उम्मेद्वार बन्न लागेको बताउनुभयो । सहकारी अभियानसँगै लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा क्रियाशील सापकोटा नेकपा (माके)सँग सम्बद्ध हुनुहुन्छ । बुटवल निवासी सहकारी अभियन्ता सापकोटा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरी नेेफ्स्कूनको सञ्चालकको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ ।
आउदो पुुष ७ र ८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेफ्स्कूनको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन सहितको ३२औँ वार्षिक साधारण सभा हुदैछ । सो साधारण सभा मार्फत नेफ्स्कूनमा आफ्नो बर्चस्व कायम गर्न नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके) लगायतका राजनीतिक दल निकट रहेका सहकारी अभियान्ताहरु जोडतोडका साथ लागिरहेका छन् ।





