पूर्व सभामुख दमन ढुंगानाप्रति श्रद्धाञ्जली दिइदै

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जबाट ल्याएर ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिएको दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिने क्रम जारी छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा बरिष्ठ अधिवक्ता एवं नागरिक समाजका अगुवा समेत रहेका ढुंगानाप्रति श्रद्धाञ्जलीका लागि राजनीतिकर्मी तथा समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुका साथै नेपाल बार एसोसिएसनका पदाधिकारी सहित कानून व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल , झलनाथ खनाल लगायतले दिवंगत ढुंगनाको निधनमा शोक प्रकट गरी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । विभिन्न राजनीतिक दलहरुका नेता कार्यकर्ताहरु लगायतले उहाँको निधनमा शोक प्रकट गरेका छन ।

दिवंगत ढुंगानाको पार्थिव शरीर आजै अपरान्ह पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने जनाइएको छ । नेपाल सरकार, मन्त्रीपरिषदकोआज विहान बसेको बैठकले दिवंगत ढुंगानाको निधनको शोकमा सार्वजनिक बिदा दिने र उहाँको पार्थिव शरीर राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने निर्णय गरेको थियो ।

जसअनुसार आज सार्वजनिक विद्यालय, कलेज/क्याम्पस लगायतका सरकारी तथा सार्वजनिक सेवाबन्द भएपनि संस्थागत विद्यालय सहित निजी क्षेत्रका अधिकांश संघ/संस्था सञ्चालनमा छन् । नेपाल सरकारले आज सार्वजनिक बिदा दिने निर्णय ढिलो गरेको भन्दै धेरैले आक्रोश व्यक्त गरे ।

कलेजोको उपचार गरिरहेका ढुंगानाको स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उहाँलाई हिजो दिउँसो १२ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रण्टलाइन हस्पिटलमा लगिएको थियो । त्यही दिउँस २ बजे ८३ वर्षको उमेरमा निधन भएको थियो । निधन भए लगत्तै उहाँको पार्थिव शरीर त्रि.वि. शिक्षण अस्पतालमा लगेर राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *