प्रतिनिधि सभा र प्रदेश सभाको यो चुनावले मुलुकको समस्या समाधान गर्दैन : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रतिनिधि सभा र प्रदेश सभाको यो निर्वाचनले मुलुकमा विद्यमान समस्याको समाधान नगर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष कट्टेलले पूँजीवादीहरुको स्वार्थ सिद्ध गर्ने उद्देश्यका साथ निर्माण गरिएको यो संसदीय व्यवस्था अन्तर्गत हुने चुनावले नेपाली शोषित पीडित श्रमजीवी जनताको गाँस, बास , कपास, शिक्षा , स्वास्थ्य, रोजगारी , सामाजिक न्याय र सुरक्षा जस्ता समस्या न यस अघि समाधान भयो न भोलि हुने अवस्था छ भन्दै यो संसदीय व्यवस्थाको उपयुक्त विकल्प नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्नु पर्ने खाँचो औंल्याउनुभयो । नेपालले अवलम्वन गर्दै आएको असम्लग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने कुनै पनि कार्य आफूहरुलाई स्वीकार्य नहुने बताउदै उहाँले मुलुकको राष्ट्रिय स्वाधीनता र अग्रगमनको लागि सबै देशभक्तहरुलाई एकजुट हुन आह्वान गर्नुभयो । आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर भाग लिएका राजनीतिक दलहरुले सिद्धान्त र विचार विहीन गतिविधि गरेर गाईजात्रा प्रदर्शन गरिरहेको उहाँको भनाई छ ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २०७० सालमा सम्पन्न संविधान सभा चुनावमा भाग लिएपनि त्यसपछिका चुनावमा भने भाग लिएको छैन र उसले नेपाली जनतालाई मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सहभागी हुनुको अर्थ नरहने बताएको छ ।

यो चुनावमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिरिक्त विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लगायतले पनि भाग नलिएको बताएका छन् ।

Leave a Reply