प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेटका विजेता खेलाडीहरुलाई जनही रु.३ लाख प्रदान गर्ने घोषणा

आईसीसी टु अन्तर्गतको एक दिवसीय त्रिकोणात्मक क्रिकेट खेलमा ४० अंकका साथ तेश्रो भएर जिम्बाबेमा हुने विश्वकप क्रिकेटको छनौट खेलका लागि पहिलो पटक छनौट भएको नेपालका विजेता खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान स्वरुप रु.३ लाख प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

त्रि.वि. क्रिकेट मैदान, कीर्तिपुरमा बिहीबार सम्पन्न आईसीसी क्रिकेट टुको एक दिवसीय त्रिक‍ोणात्मक खेल अन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गरेको थियो ।

दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त खेल हेर्न प्रधानमन्त्री प्रचण्ड पनि कीर्तिपुरस्थित त्रि.वि. क्रिकट मैदानमा उपस्थित हुनुभएको थियो ।

गत माघको अन्तिम सातासम्म नेपाली क्रिकेट भविष्य अनिश्चित बनेको भएपनि फाल्गुण महिना लागेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका मोण्टी देसाईको खेल रणनीति र सोही अनुरुप नेपाली क्रिकेट खेलाडीहरुले उच्च मनोबलका साथ गरेको खेल प्रदर्शनका कारण १ महिना भित्र सम्पन्न भएका १२ मध्ये नेपाली राष्ट्रिय क्रिकेट ट‍ोलीले ११ खेल जित्न सफल भएको जानकारहरु बताउछन् । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुका कारण नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले नेपाल सरकारको सामू नेपाली क्रिकेटको विकासका लागि आवश्यक पूर्बाधार निर्माण लगायतका कार्य गर्नु पर्ने जिम्मेवारी थपिएको सरोकारवालाहरुको भनाई छ ।

Leave a Reply